अनमोल केसी अर्थात्, पैसा छाप्ने मेशिन । उनका जुन फिल्म प्रदर्शनमा आएका छन् त्यसले बक्स अफिसमा सफलताको झण्डा फहराएका छन् । डेब्यु फिल्म देखि लगातार नयाँ नायिकाहरुसँग मात्र स्क्रिन शेयर गरेका अनमोलले माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'कृ'मा नव-नायिका अदिती बुढाथोकीसँग रोमान्स गरेका छन् ।
फिल्मको सार्वजनिक पोस्टर र ट्रेलरबाटै यो जोडीको गजबको तारिफ भइरहेको छ । 'कृ'मा प्रेम-प्रेमिका बनेका अनमोल र अदिती रियल लाइफमा श्रीमान-श्रीमती बन्न सक्छन् ? शनिवार पत्रकारसँग कुराकानी गर्दै अनमोलले भविष्यको कुरा अहिले गर्न नमिल्ने बताए ।
उनी भन्छन्, 'अहिले हामी बीचमा त्यो बोन्डिङ हुनै सक्दैन पनि कसरी भनुँ अनि भविष्यमा हामी कपल हुन्छौ पनि कसरी भनुँ । त्यो भविष्यमा नै थाहा हुन्छ ।' उनी अदितीमा श्रीमतीमा हुनु पर्ने गुण भने रहेको बताउँछन् ।
'एकलौटी छोरी हो । राम्री छ । डिसेन्ट छ । उसमा श्रीमतीमा हुनु पर्ने क्वालिटी छ । रुप अर्को कुरा हो तर उसको मन सफा छ ।', अनमोलले भने । यस्तै, अदिती पनि अनमोललाई कुनै यूवतीले प्रेमी वा श्रीमानको रुपमा पाए भाग्यमानी हुने बताउँछिन् ।
उनी भन्छिन्, 'अनमोल धेरै नै राम्रो केटा हो । सोझो छ । डिसेन्ट छ । प्रेमिका होस् वा श्रीमती, उसले खुसी राख्छ ।' अदितीले अनमोलसँग काम गर्न पाउँदा निकै खुसी महशुस रहेको बताइन् ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको 'कृ'लाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।