[caption id="attachment_70107" align="aligncenter" width="900"] तस्बिर साैजन्यः विश्वराज कार्की[/caption]

पानवारी । धरान–६ स्थित पानवारीमा डिप बोरिङको काम धमाधम भइरहेको छ । रेश्मा डिप बोरिङ कम्पनीले २७ लाखको ठेक्कामा डिप बोरिङको काम सम्पन्न गरिसकेको छ । कम्पनीले डिप बोरिङ गरी १ सय ७० फुट खनेर पाइप लगाउने काम सकिसकेको छ । कम्पनीले करिब १० दिनमा काम सकेको हो । बहुवर्षे योजना अन्तर्गत भइरहेको उक्त योजना सम्पन्न भइ सञ्चालनमा आउन भने थप एक वर्ष लाग्ने बताइएको छ । सिचाइ डिभिजन कार्यालय विराटनगर अन्तर्गत रहेको भूमिगत सिचाई डिभिजन विराटनगरका हाइड्रोजियोलोजिष्ट मनोज विष्टका अनुसार बहुवर्षे योजना अन्तर्गत भएको डिप बोरिङबाट आउदो वर्ष २०७५÷७६ मा मात्र पानी निस्कने बताए । विष्टका अनुसार रेश्मा डिप बोरिङ कम्पनीले यस वर्ष ड्रिल गरेर पाइप लाइन लगाइसकेको छ भने आउदो वर्ष पानी तान्ने पम्प जडान गरेपछि भुमिगत पानी निकालेर प्रयोगमा आउने बताए । धरान–६ पानवारी स्थित शितलचोकबाट पानी निकालेर पम्पको माध्यमले कलबोटसम्म पु¥याइ त्यसभन्दा तल रहेको भुमिमा सिचाइ हुने बताइएको छ । अहिले धमाधम निर्माण भइरहेको योजना भूमिगत सिचाइ डिभिजन कार्यालयको अन्वेषणात्मक योजना हो । भूमिगत पानीको अनुसन्धानको लागी बोरिङ गरिएकोले यसको पहिलो प्राथमिकता भुमिगत पानीको अनुसन्धान भएको विष्टले दाबी गरे । अनुसन्धानको लागी बोरिङ गरिएको भएपनि यसलाई प्रयोगमा भने ल्याउने विष्टले बताए । योजना सम्पन्न भएपछि स्थानीय कृषकको ‘जल उपभोक्ता समिति’ बनाएर स्वामित्व हस्तान्तरण गरिने बताए । स्वामित्व हस्तान्तरण पछि स्थानीयले नै उक्त योजना सञ्चालन गरी लाभ लिनसक्ने उनले बताए ।