'आधा लभ', 'चक्कर', 'सुनकेसरी', 'फिर्के' फिल्ममा एकसाथ काम गरिसकेका नायक अर्पण थापा र नायिका ऋचा शर्मा फेरि एकपटक पर्दामा देखिने भएका छन् ।

आइतबार अर्पण र ऋचाको मुख्य भूमिका रहने फिल्म ‘फेरि–फेरि’को राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरियो ।

पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जनरामा बन्ने यो फिल्मलाई निर्देशक थापा नारीप्रधान भन्न रुचाउँछन् ।

माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण र ऋचाका अलावा लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशक पुरनले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले ‘फेरि–फेरि’ खिचिने जानकारी दिए ।

सुरेश बज्राचार्यको छायांकन, एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत, विपिन मल्लको सम्पादन रहने फिल्मका गीतमा रामचन्द्र काफ्ले, टीका प्रसाईँ, रनक बस्नेत र एनि श्रेष्ठको स्वर रहनेछ ।