इटहरी/ एक नम्बर प्रदेश सभाको बैठक बस्ने समयमा मुख्यमन्त्री बन्नेको डौडधुप बढेको छ । एक नम्बर प्रदेशको मुख्यमन्त्रीको भाग बाम गठबन्धनको परेपछि यतिबेला एमाले भित्र मुख्य मन्त्रीका आकांक्षीहरु आन्तरिक गृहकार्यमा व्यस्त रहेका छन् ।
सोमबार विराटनगर महानगरपालिकामा हुने प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरेर ९३ जना प्रदेश संसदको सहभागिता रहने छ । सभामा एमालेको बहुमत रहेको छ ।
प्रदेश सभा सदस्यमा एमालेका ५१ जना रहेका छन् । मैदानमा यतिबेला संसदिय दलको नेता बन्नका लागि तीन जना उत्रिएका छन् । प्रदेश सभामा माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरेर १५ जनाको सहभागिता रहने छ ।
प्रदेश नम्बर १ मा बाम गठबन्धनको स्प्रस्ट बहुमत देखिएपछि नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने देखिएको छ । कांग्रेस सँग २१ जना प्रदेश सभाका सदस्यहरु रहेका छन् । त्यस कारणपनि कांग्रेसले मुख्य मन्त्रिमा कसैलाई उठाउने चासो राखेको छैन ।
यतिबेला मुख्य मन्त्रीको दौडमा एमालेका तीन जना नेताहरु पार्टी सचिव भीम आचार्य, पुर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई र कोशी अञ्चल इन्चार्ज जीवन घिमिरे रहेका छन् । मुख्य मन्त्रीको आकांक्षीको रुपमा केहि समय पहिला हिक्मत कार्की र राजेन्द्रकुमार राई देखिएतापनि अहिले भने कार्की र राई देखिएका छैनन् ।
एमाले सचिव भीम आचार्यले मुख्यमन्त्रीको टुंगो प्रदेश तहबाटै लाग्ने बताएका छन् । माथिल्लो कमिटीबाट निर्णय गर्दा विवाद आउन सक्ने आचार्यको भनाई रहेको छ । नेता आचार्यले मुख्यमन्त्रीको चयन गुटका आधारमा नहुने बताएका छन् । ५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत दलको नेता भएको भन्दै उनले बाँकी प्रदेशमा पनि प्रदेश तहबाटै मुख्यमन्त्रीको नाम टुंगो लाग्ने बताए ।
स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार चयन गर्दा गुट र भागबण्डा नभएको दाबी गरेका छन् । मुख्यमन्त्री गुटले नभएर योग्यता, क्षमता र अनुभवका आधारमा हुनुपर्ने आचार्यको भनाई रहेको छ ।
स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा आफूले नेतृत्वको गरेको प्रदेशमा उत्कृष्ट नतिजा आएको उल्लेख गर्दै आचार्यले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध आएका समाचारमा एक प्रतिशत पनि सत्यता नभएको बताउँदै उनले कोही नेतालाई टिकट नदिएको, टिकट बेचेको जस्तो मिथ्या आरोप खण्डन गर्न लायक पनि नभएको बताए । अनावश्यक मिडियाबाजी र प्रचारबाजीमा विश्वास नगर्न सबैलाई उनले आग्रह गरे ।
स्थानीय तहको निर्वाचनमा टिकटमा आर्थिक विषय उठेका एक जना नेतालाई आन्तरिक कारबाही समेत भएको आचार्यले बताए । आचार्यले एमालेले प्रदेशको नेतृत्व गरेपछि १ नम्बर प्रदेशमा गर्ने कामको योजना केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।