सुनसरी । प्रदेश नम्बर १ को पहिलो बैठक सुरु भएसँगै भावी मुख्यमन्त्री को बन्ने भन्ने दौडधुप सुरु भएको छ ।
वाम गठबन्धनको बहुमत रहेको प्रदेश नम्बर एकको मुख्यमन्त्री भागबण्डा एमालेको भागमा परेपछि एमाले भित्र मुख्य मन्त्रीको प्रतिस्पर्धीकाबीच तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ ।
एमालेले संसदीय दलको नेता सर्वसम्मत रुपमा छान्न नसकेपछि माघ २६ गते संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । चुनावका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ ।
आइतबारसम्म संसदीय दलको नेता बन्ने दौडमा तीन जना नेता प्रतिस्पर्धी देखिए पनि सोमबार भने जीवन घिमिरे दौडबाट पछि हटेको एमाले श्रोतले जनाएको छ । एमाले श्रोतका अनुसार अब एमाले सचिव भिम आचार्य र पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईबीच संसदीय दलको नेता बन्न प्रतिस्पर्धा हुने भएको छ ।
श्रोतका अनुसार जीवन घिमिरेले मैदानबाट आफू पछि हटेको आफ्ना निकटहरुलाई भन्ने गर्नु भएको छ । सम्वाददाताको जिज्ञासामा भने उहाँले आफू पनि संसदीय दलको नेताको रुपमा प्रतिस्पर्धी रहेको बताउनुभयो । तर, एमालेको निकट श्रोतले भने घिमिरेलाई मनाई सकेको जनाएको छ । संसदीय दलको नेताको दौडमा रहनु भएका भिम आचार्य नेपाल पक्षका नेताका रुपमा चिनिनु हुन्छ भने राई ओली पक्षका नेताका रुपमा चिनिनुहुन्छ ।
अघिल्लो महाधिवेशनलाई हेर्ने हो भने नेपाल पक्ष प्रदेश नम्बर एकमा बलियो देखिन्छ । महाधिवेशनको गुटलाई हेर्दा प्रदेश नम्बर एकमा ३१ जना नेपाल पक्षका र २० जना ओली पक्षका सांसद रहेका छन् । तर, झापा, मोरङ्ग, सुनसरीमा भिम आचार्यसँग देखिएको असन्तुष्टिले महाधिवेशनको गुटमा परिवर्तन भएको एमाले श्रोत बताउँछ ।
त्यसमा पनि स्थानीय स्तरका प्रभावशाली नेताहरु भिम आचार्यसँग रुस्ट भएका कारण नेपाल पक्षको भोट शेरधनका पक्षमा जाने देखिन्छ । भिम आचार्यसँग झापाका पूर्व जिल्ला अध्यक्ष तथा सांसद रविन कोइराला, प्रभावशाली नेता नरेश खरेल, मोरङमा पूर्व सांसद चण्डी राई तथा सुनसरीमा प्रभावशाली नेता रेबतीरमण भण्डारी आचार्यका विरुद्धमा छन् । यसले पनि आगामी संसदीय दलको नेता निर्वाचनमा प्रभाव पर्ने पक्का छ ।
यस बाहेक जनजातिको भोट तथा पहाडी ‘सेन्टिमेट’समेत शेरधनलाई जाने अनुमान गरिएको छ । तर, प्रदेश नम्बर एकका प्रभावशाली नेता भिम आचार्यसमेत लामो समयदेखि मुख्य मन्त्रीको तयारीमा रहेकाल चुनावमा कसले बाजी मार्छ भन्न सक्ने अवस्था नरहेको एमाले नेताहरु बताँउछन् ।
कतिपयले मुख्यमन्त्रीको दौडमा रहनु भएका जीवन घिमिरेसमेत शेरधनसँग ‘प्याकअप’ भएको बताएका छन् । नेपाल पक्षका प्रभावशाली तथा पूर्व कोशी अञ्चल इन्चार्ज जीवन घिमिरे र भिम आचार्यको चिसो सम्बन्धका कारण पछिल्लो समय भिमका विरुद्ध उम्मेदवारी दिने तयारी गर्नु भएको थियो ।
यही सम्बन्धको फाइदा उठाउँदै ओली पक्षले घिमिरेलाई प्रदेशको प्रभावशाली मन्त्रालय दिने प्रस्ताव राखेपछि आइतबार राति घिमिरे यो प्रस्तावमा सहमति भएको बताइएको छ । प्रदेश नम्बर एकमा एमालेका ५१ जना प्रदेश सांसद रहेका छन् । उनीहरुले संसदीय दलको नेता छान्ने छन् ।
संसदीय दलको नेता भावी मुख्य मन्त्री बन्ने पक्का पक्की छ । प्रदेश नम्बर एकमा एमाले एक्लैका बहुमत रहेको छ । त्यसमा बाम गठबन्धनको १५ सिटसमेत जोडिने छ । वाम गठबन्धनको बहुमत देखिएपछि कांग्रेसले भने कसलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भन्ने सामान्य गृहकार्यसमेत गरेको देखिँदैन ।