विराटनगरमा जारी राष्ट्रिय सभा सदस्य चुनावमा संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसदले भोट नहाल्ने भएकी छिन् ।
प्रदेश १ मा एकजना मात्रै समानुपातिक सांसद भएको संघीय लिम्बुवान मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले पार्टीको निर्णय नै भोट नगर्ने भएकाले वाम र लोकतान्त्रिक कतै पनि भोट नगर्ने बताएकी छिन् ।
मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो पार्टीले तीन कारणले भोट नहाल्ने बताए । पुँजीवाद र साम्यवादवीचको संघीय सहअस्तित्ववाद आफ्नो सिद्धान्त भएकाले सैद्धान्तिकरुपमा वाम र लोकतान्त्रिक कुनै पनि पार्टीमा भोट नहाल्ने उनले बताए ।
कुनै पार्टीले भोट माग्न आधिकारिक छलफल नगरेकाले पनि भोट नहालिएको लिङ्देनले बताए । राष्ट्रिय सभा चुनावमा भाग लिएका दलहरुले लिम्बुवानको एजेन्डामा प्रष्ट मत नदिएकाले पनि भोटमा भाग लिने जाँगर नचलेको लिङ्देनले अनलाइनखबरलाई बताए ।