विराटनगर / नेकपा एमालेले प्रदेश  १ मा संसदीय दलको नेता चयन गर्न २६ माघलाई निर्वाचन गर्ने मिति तोकेको छ। दलको नेताका लागि आकांक्षी रहेका तीनजना नेताहरूका नाममा सहमति जुट्न नसकेपछि एमालेले आन्तरिक निर्वाचन गर्ने औपचारिक निर्णय गरेको हो।

यससँगै एक पक्षीय, दुई पक्षीय र त्रिपक्षीय छलफल तीव्र बनेको छ। यस प्रदेशको मुख्यमन्त्री बन्न पहिलो दाबी एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईले गरेका थिए।

प्रदेश सभाको निर्वाचन भइसकेपछि नेता राईले पटक-पटक पत्रकारसँग कुरा गर्दै आफ्नो सशक्त दाबी रहेको बताउँदै आएका छन्। कुराकानीका क्रममा उनले प्रदेश १ को भौगोलिक बनावट र जातीय अवस्थालाई ख्याल गर्दा आफू मात्रै योग्य रहेको दाबी गरे। ‘मैले नै सबैको प्रतिनिधित्व गर्न सक्छु,’ उनले भने, ‘मुख्यमन्त्रीमा मेरो सशक्त दाबी छ।’ राईले अन्य पक्षको आलोचना नगरे पनि आफू संसदीय दलको नेताका लागि हुने निर्वाचन प्रक्रियामा भाग लिने बताएका छन्।

यस प्रदेशमा एमालेका सचिव तथा प्रदेश संयोजक भीम आचार्य मुख्यमन्त्रीका लागि बलिया दाबेदार हुन्। मुख्यमन्त्रीका दाबेदार नेता भीम आचार्यले वरिष्ठताका आधारमा आफू मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन्। ‘१/२ दिन हामी सहमतिकै प्रयासमा हुनेछौँ,’ उनले भने, ‘सहमति नभए प्रक्रियाबाट संसदीय दलको नेताको निर्वाचनमा म सहभागी हुन्छु।’

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे पनि आफू शेरधन राईभन्दा 'सिनियर' भएको र आचार्यसँगै राजनीति गरेका कारण आफूयोग्य, सक्षम रहेको बताउँछन्। ‘२६ गते ११ बजेसम्म सहमतिको प्रयास हुन्छ,’ घिमिरेले भने, ‘मेरो नाममा सहमति हुने सम्भावना छ, भएन भने म पनि निर्वाचन प्रक्रियामा सामेल हुन्छु।’ प्रदेशको मुख्यमन्त्रीमा झापाबाट एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

‘सर्वसम्मत चयन हुने अवस्थामा मैले मुख्यमन्त्रीमा दाबी गरेको हुँ,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा भने म सहभागी हुन्नँ।’ खासगरी मुख्यमन्त्रीमा भीम आचार्य, शेरधन राई र जीवन घिमिरे सशक्त दाबेदारका रूपमा उभिएका छन्। यद्यपि, केहीले भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले नेता आचार्यलाई छेक्नका निम्ति सशक्त मन्त्रीको प्रलोभनसहित घिमिरेलाई अगाडि सारिएको कतिपयको आरोप छ। आचार्य र घिमिरे दुवैजना वरिष्ठ नेता माधव नेपाल समूहका हुन्। थाहाखबरबाट