काठमडाै । अन्ततः एमालेले मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै लगाउने भएको छ । आकांक्षी धेरै भएपछि एमालेले यस्तो उपाय अवलम्बन गर्न लागेको हाे ।
एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।
समाचार अनुसार, एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्य्विधि तय गरेको थियो ।