विराटनगर/एक नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । राईले २६ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी भीम आचार्यलाई पराजित गरेका छन् । आचार्यले २४ मत प्राप्त गरे । एक मत बदर भएको थियो । कुल ५१ जना सांसद मध्ये राईको पक्षमा २६ सांसदले मतदान गरेका थिए । विराटनगरको जिल्ला समन्वय समितिको भवनमा मतदान भएको थियो । जसमा प्रदेश एक संयोजक भीम आचार्य र उप संयोजक शेरधन राईबीच प्रतिस्पर्धा भएको थियो । दुबै उमेदवारले शुक्रबार बिहान ११ बजे उमेदवारी दर्ता गरेका थिए । शेरधनको प्रस्तावकमा सुनसरी ४ का प्रदेश सांसद जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की रहेका थिए भने आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ रहेका थिए । उक्त प्रतिस्पर्धामा जीवन घिमिरे पनि रहेका थिए । तर, उनले मनोनयन गर्नुपूर्व नै होडबाट बाहिरिएका थिए । घिमिरेले आचार्यको समर्थन गरेका थिए । पटक पटक सहमतिको प्रयास गरे पनि नमिलेपछि मतदान मार्फत् संसदीय दलको नेता चुनिएको हो ।