मोरङ/ मोरङको पथरीशनिश्चरेमा पनि हात्तीपाइले रोगका विरामी रहेपछि सो रोग निवारणको जनचेतनामुलक अभियानका लागि १ दिने अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी वनाउन सवै पक्षबाट सहयोगको अपेक्षा सहित नगरपालिका प्रमुख दीलिपकुमार राइले आव्हान गरेका छन् । उनले पथरी, शनिश्चरे र हसन्दहमा भएका स्वास्थ्य चौकीका कर्मचारीको अगुवाईमा प्रत्येक मानिसले औषधि सेवन गर्ने कुरामा प्रतिवद्ध वनाउन स्थानीयले सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

सो अवसमारमा उनले नगरपालिकाले ७० वर्ष उमेर पुगेकालाई १ नम्वर प्रदेशभरी वर्षको १ पटक एम्वुलेन्स सेवा निशुल्क, ८० वर्षमाथिकालाई घरमै गएर स्वास्थ्य उपचार सेवा र ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयमसेविकालाई अवकास दिँदा ५० हजार रुपैयाँ प्रदान गर्ने स्वास्थ्यको कार्यक्रम थालिएको समेत सुनाए ।

कार्यक्रममा, हात्तीपाइले विरुद्धको औषधिप्रतिको अफवाहलाई हटाउँदै वडाध्यक्ष, सदस्य सहितका समाजका विभिन्न क्षेत्रका अगुवाहरुले औषधि सेवन अनिवार्य रहेको सन्देश नगरवासीलाई दिनुपर्ने स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए । ‘यो नगरपनि हात्तीपाइलेको संक्रमणको जोखिम क्षेत्र हो, यहाँ १ दर्जनको संख्यामा हात्तीपाइले रोगका विरामी फेला परेका छन् ।’– उनले प्रष्ट्याए । अभिमुखिकरणमा आचार्यका साथै जगत मगरले सहजिकरण गरेका छन् ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोगबाट मानिसलाई कुरुप वनाउने भएकाले यसको संक्रमणबाट वच्न ओछ्यान परेका विरामी, ७ दिनको सुत्केरी, गर्भवती, २ वर्ष कमका वालवालिका, दीर्घरोगी, कडा रोगको औषधि सेवनकर्ता, कडा कुपोषण भएका मानिस वाहेक सवैले औषधि सेवन गर्ने सरकारी अभियान छ ।

निरन्तर ६ वर्षसम्मको अभियान सञ्चालन गर्दा पनि मोरङ, झापा सहितका ३७ जिल्लामा रोग निवारण हुन वाँकी रहेकाले पुन २ वर्षे कार्यक्रम थपिएको र २४ जिल्लामा एकै समयमा औषधि खुवाउने ३ दिने अभियान सञ्चालन हुने भएको हो ।

शिक्षा क्षेत्रका प्रमुखहरुसँग केन्द्रीत कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाई, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, शिक्षक टीकाप्रसाद दंगाल, पदम सापकोटा, वडासदस्य निर्मला गदाल, समाजसेवी पर्शुराम मिश्रले औषधि खुवाउन सवैपक्ष लाग्नु पर्ने वताए । मिश्रले त हात्तीपाइले रोगसँग सम्वन्धित स्नोफेलियाको औषधि र हाइड्रोसिलको जाँच आफू संलग्न कावेली हस्पिटलमा निशुल्क गरिदिने घोषणा गरेका छन् ।

नगरपालिकाले वुधवारदेखि प्रत्येक वडाका २५÷२५ जना स्वयम्सेवकलाई अभिमुखीकरण गराउँदै १० वडामा महिला स्वास्थ्य स्वयमसेविका समेत गरी २ सय ९० जनाले औषधि खुवाउने अभियान सञ्चालन हुनेछ । वडाभित्रका विद्यालयहरुमा गएर समेत औषधि खुवाउने स्वास्थ्य चौकीले जिम्मेवारी लिएको छ । २ वर्षदेखि ७० वर्षसम्मका सवैले हात्तीपाइले विरुद्धको एल्वेन्डाजोल र डीइसी औषधि खुवाइन्छ ।

नगरको पथरीमा ५ जना, हसन्दहमा २ जनामा हात्तीपाइलेको संक्रमण देखापरेको छ । शनिश्चरेमा भनें हात्तीपाइलेको संक्रमणबाट भएको हाइड्रोसिलका विरामी संख्या १० जना रहेको सम्वन्धित स्वास्थ्य चौकीले जनाएको छ ।