प्रदर्शनरत युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ पछि यदी यतिबेला कुनै फिल्मको व्यग्र प्रतिक्षा भइरहेको छ भने त्यो फिल्म ‘शत्रु गते’ हो ।

‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतका कारण जसरी फिल्मको हाइप बनेको छ यसबाट अनुमान लगाउन गाह्रो छैन कि फिल्मको बक्स अफिस कलेक्सन आक्रामक हुनेछ । अझ, ‘छक्का पञ्जा’ टीम जोडिएका कारण पनि फिल्मले के कस्ता रकेर्ड तोड्ने छ त्यसतर्फ पनि सबैको ध्यान मोडिएको छ ।

पछिल्लो समय नेपाली फिल्मका गीतसंगीतले युट्युबमा करोड भ्यू पाउनु सामान्य बन्दै गर्दा ‘शत्रु गते’ को ‘रुपै मोहनी’ ले पनि बिहीवार साँझ ४ बजे १ करोड 'प्लस' भ्यू पाएको छ । यो गीतले फिल्मको व्यापारमा ठूलो अर्थ राख्ने निर्माण टिमको विश्वास छ ।

फिल्म रिलिज अगावै गीतले बनाएको किर्तिमानी रेकर्डको ‘शत्रु गते’ टीमले बिहीवार केक काटेरै सेलिब्रेट गर्‍यो । संयोग पनि गजब परेछ, गीतको करोड भ्यू र फिल्मका प्रमुख कलाकार पल शाहको जन्मदिन पनि एकैदिन परेको थियो ।

पललाई जन्मदिनको शुभकामना दिँदै फिल्म यूनिटले संयूक्त रुपमा ‘रुपै मोहनी’ ले युट्युबमा रचेको करोड भ्यूको किर्तिमानी रेकर्डको केक काटे । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, शिवहरी पौडेल, दीलिप रायमाझी लगायतका कलाकारहरु गीतको सफलताको सेलिब्रेट गर्न उपस्थित थिए ।

यो गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।

नायिका आँचल शर्माले आफूहरुभन्दा अग्रजसँग काम गर्न पाएको खुसी शब्दमा अभिव्यक्त गर्न सकिनन् । उनी भक्कानिएर रोइन् । नायक पल शाह पनि आफूले ‘शत्रु गते’ मा काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको बताए ।