अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) स्टारर फिल्म ‘कान्छी’ ले दोस्रो सातामा आफ्नो प्रदर्शन सुरु गरेको छ । पहिलो हप्ता दर्शकको राम्रो साथ पाएको फिल्मले दोस्रो सप्ताहमा पनि उस्तै उत्साहजनक साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।
वितरक गोपालकाजी कायस्थका अनुसार, दोस्रो सातामा फिल्मले ७० बढी हल पाएको छ । फिल्मको एक हप्ते बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छैन ।
यस्तैमा ‘कान्छी’ टिम दोश्रो सातामा मोफसल यात्रामा निस्किएको छ । नायिका तथा निर्मात्री श्वेता खड्का, नायक विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन् ।
‘खासमा हामी खुसी साट्न मोफसल निस्किएका हौं’, श्वेताले भनिन्, ‘कान्छी’ लाई राजधानी सँगै मोफसलका दर्शकले पनि राम्रो साथ दिनु भएको छ । उहाँहरुलाई धन्यवाद दिन हाम्रो युनिट मोफसलका मुख्य शहरमा निस्किएको हो ।’

निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई भने व्यस्तताका कारण मोफसल जान नपाएको श्वेताले बताइन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।
याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’ मा प्रज्जवल सुजल गिरी, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।
फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।