काठमाडौँ/ कांग्रेस सभापतिले दलको नेता चयनका लागि ल्याएको नयाँ विकल्पलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् ।

केन्द्रीय सदस्य रमेश लेखक र गोपालमान श्रेष्ठले शनिबार नेता पौडेलसँग भेट गरी सभापति शेरबहादुर देउवाले अगाडि सारेको प्रस्ताववारे छलफल गरेका थिए ।

देउवाले अगाडि सारेको प्रस्तावमा दलको नेता सभापति देउवालाई बनाउने र उपनेता चाहिँ पौडेल समूहले अगाडि सारेको व्यक्ति बनाउने भन्ने छ ।

पौडेल समूहबाट प्रकाशमान सिंह मैदानमा उत्रने तयारी गरिरहेका बेला सभापति देउवाको विकल्प अगाडि आएको हो ।

तर, पौडेलले निर्वाचनको पराजयको जिम्मेवारी सभापतिले नलिएसम्म अन्य कुरामा सहमति हुन नसक्ने बताएका हुन् ।

‘देउवाजी पराजयको जिम्मेवारी लिन तयार हुनुहुन्न । उहाँले जिम्मेवारी नलिदासम्म अरु विषयमा सहमति हुन सक्दैन,’ पौडेलले भने ।

संसदीय दलको  नेता देउवा बनेर उपनेता पौडेल पक्षलाई दिने गरि देउवाले ल्याएको विकल्पमा असहमति रहेको केन्द्रिय सदस्य नविन्द्रराज जोशीले पनि वताए ।

‘नैतिकताको लडाई हो । संसदीय दलको नेता र उपनेताको वाँडफाड हुने सम्भावना छैन ।’ जोशीले भने ।

दलको नेता चयन लागि उम्मेदवारी दर्ताको लागि आज साँझ समय तोकिएको छ भने निर्वाचन सोमवार १० वजे देखि  १ वजेसम्म हुँदैछ ।

सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह दलको नेता लागि चुनावी प्रतिस्पर्धामा उत्रने बताइएको छ ।

दलको नेता र उपनेता वाँडफाडमा कुरा मिलाउन देउवाले शनिवार साँझ गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पौडेलसँग भेट गर्न पठाएका थिए ।

काँग्रेस महामन्त्री डा शसांक कोइरालाले गत बुधवार आफ्नै निवास काँग्रेस सांसदका लागि आयोजना गरेको दिवाभोजमा देउवा र सिंह दुवैले संसदीय दलका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

अहिलेसम्मको अंकगणितअनुसार देउवाको पक्षमा प्रत्यक्ष ११ र समानुपाकित २८ गरी ३९ सांसद छन भने सिंहको पक्षमा प्रत्यक्ष ९ र समानुपातिक १२ गरी २१ सांसद छन् ।

कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधान र उमाकान्त झाले देउवालाई भोट दिने सम्भवना रहेको काँग्रेस नेताहरु बताउँछन् ।

समानुपातिक सांसद विनोद चोधरी पनि कतै खुलेका छैनन् ।

कांग्रेसले संघीय सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्न लागेको हो ।

सत्तारुढ एमाले र माओवादी केन्द्रले सांसदले शपथ नै नलिईकनै दलको नेता छनोट गरेका थिए ।

प्रतिनीधिसभामा कँग्रेसका प्रत्यक्ष २३ र समानुपातिक ४० गरी ६३ सांसद छन् ।

संस्थापन पक्षमा बहुमत सांसद रहेकाले देउवा संसदीय दलको नेता हुने करिव निश्चित छ ।

कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता शुल्क ४१ हजार रुपैयाँ तोकेको छ ।

२१ फागुन बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।

त्यसैबी नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् ।

थापाले चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।