नेपालका शीर्ष राजनीतिज्ञहरु ५० वर्ष पुरानो कथामा निर्मित फिल्म ‘पञ्चायत’ हेर्न हल पुगेका छन् । चैत २ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको शुक्रवार साँझ कुमारी हलमा भिआईपी शो राखिएको थियो । जहाँ देशका चर्चित नेताहरु उपस्थित थिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनालसँगै नेताहरु जर्नाजन शर्मा, योगेश भट्टराई, मिनेन्द्र रिजाल, वर्षमान पुन, ओमसरी घर्तीमगरलगायतले एकसाथ फिल्म हेरे । प्रिमियरमा चलचित्रकर्मीभन्दा राजनीतिज्ञहरुको बाक्लो उपस्थिति थियो ।
‘पञ्चायत’ हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले फिल्मको कथा, कलाकारको अभिनय र निर्देशकीय पक्षको तारिफ गरे । उनले भने, ‘धेरैपछि राम्रो फिल्म हेर्ने अवसर मिल्यो । अभिनेत्री नीता ढुंगाना र अभिनेता सरोज खनालको अभिनय सम्झन योग्य छ ।’
नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘पञ्चायत’ समाजको एउटा प्रतिविम्ब रहेको बताए । उनले भने, ‘फिल्म रोचक छ । समाजको वास्तविक चित्र फिल्मले प्रस्तुत गरेको छ ।’
यस्तै, अन्य नेताहरुले पनि फिल्मको बारेमा राम्रो बोलेका छन् । चौबन्दी चोली र फरियामा ठाटिएर भिआईपी शोमा उपस्थित भएकी अभिनेत्री नीताले नेपालका शीर्ष नेताबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन् । भनिन्, ‘अब दर्शकको प्रतिक्रिया जान्न आतुर छु ।’
यस्तै, अभिनेता सरोज खनालले स्क्रिप्टमा भन्दा अझ राम्रो फिल्म बनेको बताए । उनी भन्छन्, ‘सबैले रुचाइदिनुभयो यही नै हाम्रो लागि खुसीको कुरा हो ।’ उनी फिल्ममा एक गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा प्रस्तुत भएका छन् ।
फिल्ममा शिवम अधिकारीको लेखन र निर्देशन छ । ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ ।
ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।