काठमाडौं/ गायिका आस्था राउत र ज्योति मगरबीच ‘वाकयुद्ध’ जारी छ । केही दिनअघि गायिका राउतले फेसबुकमा राम्रा र मीठो स्वरका धनी भएकाहरू घरमै बसेका र अश्लील र नांगो नाच गर्नेहरू महोत्सवमा बिकेका छन् भनेर लेखेपछि दुई गायिकाबीच ‘वाकयुद्ध’ सुरु भएको हो ।

‘कति स्वरका धनी चेलीहरू घरमै बस्नु पर्या छ, अश्लील कुराहरू र नांगो नाच गर्नेहरू महोत्सवहरूमा बिक्या छ ! समाजमा विकृति फैलाउन मद्दत गर्दै महत्सववालाहरू,’ आस्थाले फेसबुकमा लेखेकी थिइन् । सो विषयले नेपाली संगीत क्षेत्रमा ठूलै तरंग सिर्जना गर्‍यो ।

पछिल्लो समय जिल्ला जिल्लामा हुने मेला र महोत्सवमा गीत गायनभन्दा पनि अंग प्रदर्शनले बढी प्राथमकिता पाउन थालेको भन्दै टीकाटिप्पणी हुन थालेका छन् । यही मेसोमा आस्थाले अंग प्रदर्शन गर्ने गायिकालाई लक्षित गर्दै कमेन्ट लेखेकी थिइन् ।

आस्थाले लेखेको स्टाटसप्रति आपत्ति जनाउँदै लोकगायिका ज्योति मगरले शुक्रबार बिहान फेसबुकमा जवाफ लेखेकी छन् । ज्योतिले सुरुमै ‘रातभर रामायण पढायो सीता कसको जोई, आफू नाच्न नजान्ने आँगन टेडो होई’ भन्दै मिडियाले कभर गर्न छोडेपछि आस्था राउतले फन्डा निकालेको आरोप लगाएकी छन् । ज्योतिले आस्थाको भनाइलाई कुकुरको भुकाइसँग दाँजेकी छन् ।

‘मिडियाले कभर गर्न छाडेपछि एउटा न एउटा त फन्डा त अपनाउनै परो । फेसबुकको वालमा भुक्या भुकेइ । कुकुर जति भुके नि हात्ती आफ्नै चालमा,’ ज्योतिले लेखेकी छन् । ज्योतिले अर्को वर्षको मेला र महोत्सवमा बिजी हुन शुभकामना दिँदै ‘यस वर्ष नांगो नाचले खाइहाले, तिमीलाई हार्दिक समवेदना’ भनेकी छन् ।

सबै कलाकार र दर्शक स्रोता स्वविवेकी रहेको भन्दै उनीहरूको चिन्ता गर्न छाडेर आफ्नो गीत संगीतलाई ध्यान दिन ज्योतिले आस्थालाई सुझाव दिएकी छन् । आस्थालाई गीत संगीतभन्दा पनि मेला र महोत्सवप्रति बढी चिन्ता रहेको आरोप पनि लगाएकी छन् ।

नेपालमा हुने मेला र महोत्सवमा ज्योति मगर, सरस्वति लामा, रिया श्रेष्ठहरूको बढी माग छ भने विदेशमा हुने सांगीतिक कार्यक्रममा आस्था राउतको धेरै डिमान्ड छ । आस्था राउत कमै मात्रामा नेपालमा हुने मेला र महोत्सवमा सहभागी हुन्छिन् । वर्षको पाँच महिना उनी विदेशमै बस्ने गरेकी छन् ।