उदयपुर/ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बोक्सेस्थित उदयपुर जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला अस्पतालको विषयमा व्यापक जनगुनासो आएपछि मन्त्री घिमिरेसहित प्रदेश सांसदहरुले जिल्ला अस्पतालको निरीक्षण गरेका थिए ।
जिल्ला अस्पतालमा अकस्मात मन्त्री उपस्थित भएपछि अस्पताल प्रशासन र डाक्टरसमेत आश्चर्यमा परेका थिए । जिल्लामा रहेको अस्पतालका मेडिकल अधिकृत र डाक्टरको कोठामा ठूला ठूला ताल्चा लगाएको पाइएको थियो ।
स्वास्थ्यकर्मीहरुबाट आफूहरुले काम चलाउँदै आएको र राम्रा डाक्टर नहुँदा बिरामीले सास्ती खेपिरहेको विरामीहरुले नै बताएका थिए । त्यसपछि मन्त्री घिमिरेले सबैको सरकारी तलब भत्ता खाएर अस्पतालमा नआउने र क्लिनिकमा बस्ने डाक्टरहरुलाई आफूले कारबाही गर्नेे प्रतिवद्धता जनाएका थिए ।
अस्पतालमा अहिले डाक्टर नभएकाले स्वास्थ्यकर्मीहरुबाट काम गराइरहेको अस्पताल प्रशासनका बृषबहादुरले बताएका थिए । डाक्टरहरु साधारण तलब मात्र पाउने हुँदा जिल्लामा सधै नबस्ने र बसेका डाक्टर समेतले ७ महिनादेखि तलब नपाएको एक डाक्टरले बताए ।