नेपालगञ्ज/  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग मिसिन नजाने बताएका छन्। सोमबार नेपालगञ्जमा नयाँ शक्ति पार्टी प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

अहिले नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग समाहित हुन नजाने स्पष्ट पार्दै उनले भने, ‘हामी दूध हौँ, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन। बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ। तर, पानीमा मिसिन जान सकिँदैन।’ त्यस्तै संयोजक भट्टराईले सीमांकनका आधारमा प्रदेश ५ उँट जस्तो बनेको बताएका छन्। प्रदेश ५ को संरचना उँटको जस्तो भएकोले यो लामो समय यथास्वरुपमा रहनेमा आशंका गरे।

संघीयताले तल्लो तहसम्म राजनीतिक अधिकार निक्षेपण गर्दै नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामथ्र्यलाई आधार बनाएर राज्य पुन:संरचना आयोगले दिएको प्रतिवेदनअनुसार प्रदेशहरुको सीमांकन गरिनु नै वस्तुवादी र वैज्ञानिक भएको बताए।

भट्टराईले राज्यको अवधारणा लोकतन्त्रसँगै गाँसिएर आउने भएकोले स्वतन्त्र, समानता र भ्रातृत्वलाई लोकतन्त्रको आधार बनाइएकोमा यी तीनवटै अवयवहरुलाई सँगसँगै लिएर अघि बढ्नुपर्नेमा पूँजीवादले स्वतन्त्रताको मात्र वकालत गर्ने र पारम्परिक समाजवादले समानताको मात्रै कुरा गर्ने तर स्वतन्त्रतालाई छाड्ने गरेकाले अब लोकतन्त्रको सबै अवयवहरूलाई सँगसँगै लिएर जानका लागि तेस्रो वैकल्पिक राजनीतिक धारको आवश्यकता रहेको बताए।

दुई दिनसम्म चल्ने बैठक मंगलबार प्रदेशको छुट्टाछुट्टै बैठक बसी प्रदेश कमिटी गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँडलगायतका निर्णय गर्नेछ।