सदाबहार अभिनेता भुवन केसीको पहिचान हो जुँगा । तन्नेरी अवस्थादेखि उमेरले ५० वर्ष नाघ्दा समेत उनलाई कसैले एकपटक पनि जुँगा विना देखेका छैनन् । एकसमय उनको जुँगामै धेरै युवती पागल हुने गर्थे । जुँगा र भुवन केसी एकअर्काका परिपुरक जस्तै भइसकेका छन् ।
उनले धेरैपटक मिडियासँगको कुराकानीको क्रममा भनेका छन्, ‘जुँगा मेरो पहिचान हो । यदी मैले यो जुँगा काटेँ भने त मलाई दर्शकले चिन्नुहुन्न होला ।’ भुवनले आफ्नो जुँगा आएपछि आजसम्म काटेका छैनन् । उनको जुँगामाथी केही जोक्सहरु समेत बनेका छन् ।
शुक्रवार राजधानीमा आयोजित दोस्रो ‘फान अवार्ड’ मा हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले भुवन केसीको जुँगाको विषयलाई लिएर चोटिलो व्यंग्य गरे । आफ्नो कमेडी प्रहसनको क्रममा उनी फिल्मको प्रोडक्सन म्यानेजर बनेका थिए ।

घाँटीमा दुबोको माला, काँधमा झोला र कुकुर लिएर हिरोलाई लिन हिँडिरहेका उनलाई बाटोमा सशत्र प्रहरी बनेकी उनको रियल श्रीमति (सिता घिमिरे) ले रोकेर चेकिङ गर्न थाल्छिन् । यसैबीच माग्ने बुढाले झोलाबाट एउटा कागज निकालेर भुवन केसीको जुँगा भनेर बताउँछन् ।
उनकी श्रीमतिले सोध्छिन्, ‘यो भुवन केसीको कि तक्मे बुढाको जुँगा हो ? पातलो छ त ? भुवन केसीको जुँगा त बाक्लो थियो त ?’ माग्नेले चोटिलो शैलीमा व्यंग्य गर्दै भने, ‘यो भुवन केसीकै जुँगा हो । अस्तीसम्म बाक्लो थियो । त्यो ‘कृ’ रिलिज गरेपछि पातलो-पातलो हुँदै गएको ।’
अवार्ड हल तालि र हाँसोले गुञ्जियो । दर्शक दिर्घामा प्रेमिका जीया केसीसँग बसेका भुवन पनि मुसुमुसु हाँसे । जीयाले भने हाँसो रोक्न सकिनन् । उनी आफ्नो कमेडी मार्फत महँगो लागतमा फिल्म निर्माण गरे पनि बक्सअफिसमा असफल भएको तर्फ इशारा गर्दै थिए ।
केदारले अगाडि थपे, ‘शुक्रवार फिल्म लगाएको (शुक्रवार, शनिवार, आइतवार) दुई-दुईवटा जुँगा झुत्त-झुत्त झर्दैझर्दै गयो । फिल्मको अक्षर पनि एउटा मात्र छ । जुँगा पनि एउटा मात्र होला जस्तो भयो ।’
अनि ‘कृ २’ बनाउनुहुन्न रे भुवन दाईले ? उनको श्रीमतिले फेरि प्रश्न गरिन्, ‘खबरदार ! ‘कृ २’ को घोषणा नगर्नुहोला जुँगाको सवाल छ भनेर भनेको छु मैले भुवन दाईलाई ।’
उनले आफ्नो कमेडी प्रहसनको क्रममा छविराज ओझा र शिल्पा पोखरेलको विवाहको प्रशंगदेखि ‘कृ’ मा समावेश ‘उकालीमा अघिअघि’ गीत चोरीको आरोप लगाउँदै ११ लाख रुपैयाँ क्षतीपूर्ती स्वरुप पाएका निर्देशक शम्भु प्रधानलाई चम्भु प्रधान भन्दै व्यंग्य गर्न पनि छाडेनन् ।