पानवारी । आफ्नी नाबालक छोरीको उपचार खर्च अभावमा विराटनगर निवासी तारा राई ४ वर्षदेखि छटपटाइरहेकी छन् ।
जन्मिदै मलद्वार नभएकी छोरी जन्माएकी राईले अहिले शल्यक्रियाको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेड भर्ना गरेर राखेकी छन् । ४ वर्ष अघि विराटनगरको नोबेल हस्पिटलमा जन्मेकी छोरीको मलद्वार नभएको हस्पिटलबाट डिस्चार्ज भएर घर पुगेपछि मात्र ३ दिन पछि उनले थाहा पाएकी थिइन् । तत्काल उपचारको लागी कोशी अञ्चल अस्पताल पुगेकी राईलाई अस्पतालले काठमाडौ स्थित कान्ति बाल अस्पताल रिफर गरिदियो ।
आर्थिक अवस्था कमजोर भएकी राई आफ्नो बुवाको आर्थिक सहयोगमा काठमाडौ पुगेकी थिइन् । तर कान्ति बाल अस्पतालले पनि बच्चाको तौल १ किलो मात्र भएको र कम्तिमा ७ देखि १० केजीको तौल नभएसम्म शल्यक्रिया गर्न नसकिने भन्दै फर्काइदियो । राई भन्छिन्–‘श्रीमान्ले रिक्सा कुदाएर कमाएको पैसाले उपचार गर्न त के खान पनि पुग्दैन, त्यसमाथि रक्सी खाएर पैसा सक्ने र कामै नगर्ने भएकोले छोरीलाई अरु हस्पिटल लान सकिएन ।’
अहिले भने अपांग पुनस्र्थापना केन्द्र धरानले साप्ताहिक रुपमा चलाउदै आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागी पहल गरिदिन आग्रह गर्दै पुगेपछि उनको अवस्थालाई हेरेर पुनस्र्थापना केन्द्रले उपचारको लागी पहल गरिरहेको छ । पुनस्र्थापना केन्द्रकी सेवीका सदस्य आशा राईले भनिन्–‘बच्चको उपचारको लागी कम्तिमा पनि २ लाख भन्दा माथि लाग्ने देखिएको छ, यत्रो रकम हाम्रो संस्थाले जुटाउन सक्दैन तर बच्चाको अवस्था अत्यन्तै दयनिय भएकोले तुरुन्त उपचार गनुपर्ने अवस्था छ ।’ उनले यस्तो अवस्थामा बच्चाको ज्यान जोगाइदिन सबैसमक्ष अपिल समेत गरेकी छन् ।
४ वर्षकी बालिकाको मलद्वार नहुँदा पिसाब घरबाट नै शौच हुन्छ । उनलाई कम्तिमा आधा घण्टादेखि १ घण्टासम्म शौच गर्न लाग्छ । त्यसमाथि शौच गर्दा उनलाई असह्य पीडा समेत हुने गर्दछ । उनकी आमाले शौच गर्न समस्या हुन्छ भनेर खानेकुरा उनलाई कन्ट्रोल गरेर दिने गरेको बताउँछीन् । छोरीलाई अहिले मलद्वारको समस्या त छदै थियो अहिले मुटुमा समेत प्वाल चिकित्सकहरुले बताएका छन् ।
भोजपुर घोरेटार माइती भएको र अहिले विराटनगरमा डेरा गरी बस्ने राईको आर्थिक अवस्था एकदमै नाजुक रहेको छ । उनीसँग ४ वर्षिय र १२ महिनाकी गरी २ नाबालक छोरी छन् । उनले आफुसँग बच्चालाई एउटा बिष्कुट किनेर दिने पैसा समेत नभएको बताएकी छन् । राईले भनिन्–‘श्रीमान् पनि रक्सि खाएर हिड्ने र घर परिवारको वास्ता नगर्ने भन्दै यी दुईवटा बच्चा लिएर म कमाउन कहाँ जाउ ?’ कर्म नै यस्तै हो भनेर चित्त बुझाएकी उनले छोरीको जीवनरक्षाको लागी सबैसँग सहयोग गर्न अपिल गरेकी छन् ।
उनको छोरीलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी वार्ड बेड नं. १४ मा राखिएको छ ।