काठमाडौं । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको हो ।

रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ

तत्कालका लागि अाज दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ ।

रातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । यसलाई हटाउन केही घण्टा लाग्ने भएकाले उडान अवतरण रोकिएकाे हाे ।

सकेसम्म १२ बजेदेखि उडान सुचारू गर्ने प्रयास भइरहेकाे विमानस्थल प्रशासनकाे भनाइ छ ।

नेपालमा उपलब्ध उपकरण र प्रविधिकाे प्रयोगबाट विमान पन्छाउन नसकिएमा भारतबाट उपकरण ल्याउनुपर्ने हुनसक्ने स्रोतले जानकारी दिएकाे छ ।

यसअघि टर्कीस एयरकाे विमान पन्छाउन भारतबाट उपकरण र प्राविधिकहरू झिकाइएकाे थियो ।