विजयपुर । नाडा तथा भृकुटीमण्डपमा सम्पन्न प्रदर्शनीपछि यामाहाको नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ धरानमा पनि सार्वजनिक गरिएको छ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स प्रा.लि.ले धरानस्थित आधिकारिक शोरूम विजयपुर ट्रेडर्समार्फत एक्सएसआर १५५ लाई औपचारिक रूपमा उपलब्ध गराएको हो। मोटरसाइकलको अनावरण यातायात व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले गरे।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि धरानमा पनि नयाँ मोटरसाइकल सार्वजनिक गरिएको विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले बताए। उनका अनुसार धरान तथा आसपासका ग्राहकले शोरूममै मोटरसाइकलको अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन्।
यामाहाको ‘बिल्ट अन लेगेसी, डिजाइन बाई पर्फमेन्स’ अवधारणामा तयार गरिएको एक्सएसआर १५५ मा १५५ सीसी लिक्विड-कुल्ड इन्जिन र ६-स्पिड गियर ट्रान्समिसन रहेको कम्पनीले जनाएको छ। यसले दैनिक यात्रा तथा हाइवे राइडमा उच्च माइलेजका साथै पर्याप्त पावर र गतिमा स्थिरता दिने दाबी गरिएको छ।
कम्पनीका अनुसार आकर्षक रेट्रो डिजाइनसँगै आधुनिक प्रविधि र स्टाइलको संयोजन गरिएको एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नयाँ मोडलमा मेरून रेड सहित विभिन्न रङका विकल्प उपलब्ध छन्।
एमएडब्लू राइडर्स प्रा.लि. नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर विश्वस्तरीय मोबिलिटी, प्राविधिक नवीनता र ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ

































