शनिश्चरे । उत्तरपूर्वी मोरङको सृजनशील गतिविधिमा सक्रिय बन्दै गइरहेको पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फयूजनले शुक्रवार पूर्वका विशिष्ट साहित्यकार एवम् चित्रकार प्राज्ञ उपेन्द्र पागल वस्नेतलाई सम्मान गरेको छ ।

तमु वौद्ध गुम्वाको सहआयोजना रहेको प्रत्येक महिनाको पहिलो शुक्रवारको मासिक कार्यक्रम ‘सृजना चौतारी’ को तेस्रो श्रृंखलामा वस्नेतलाई नगरपालिका प्रमुख दिलिपकुमार राई, चित्रकार सरोजा खड्गी, पूर्व सांसद चण्डीप्रसाद राई सहितले सम्मानपत्र र वस्नेतकै मुहारचित्रले सम्मानित गरेका हुन् । पछिल्लो समय समालोचना क्षेत्रबाट वढी चिनाएका नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य ७२ वर्षीय पागलको यो ६२ औं सम्मान हो । सृजना क्षेत्रमा ५० औं वर्षदेखि सक्रिय सुनसरीको इनरुवास्थित मधेशाका उनी सवभन्दा पहिले ०१८ सालमा चित्रकारिता क्षेत्रबाट सम्मानित भएका थिए । यसबेला दम र उच्चरक्तचापले केही अस्वस्थ अवस्थामा रहेका उनी सृजनाले आफुलाई वाँच्ने उर्जा भरिरहेको वताउँछन् । कविता, कथा, खण्डकाव्य, निवन्ध, समालोचनाका क्षेत्रका विशेष रुपमा कलम चलाउँदै हालसम्म ११ वटा कृति प्रकाशित गरी सामाजिक चेतना प्रवाहका लागि सुम्पिएका छन् । कृति सम्पादनमा पनि उनको भूमिका महत्वपूर्ण रहेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले दिग्जग र अग्रज सर्जकहरुको सम्मान नयाँ पुस्ताका लागि उत्प्रेरणा भएको वताए । उनले फ्यूजनको अगुवाईमा साहित्य, कला र संस्कृतिका क्षेत्रमा भएको सक्रिय गतिविधिको प्रसंसा गर्दै साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा नगरपालिका योजनाका साथ लागिपर्ने सुनाए ।

सो अवसरमा पूर्व सांसद चण्डीप्रसाद राईले नगरमा सृजना क्षेत्रका व्यक्तिहरुले चौतारी खडा गरी नगरको सृजनशील पहिचान वढाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व उपेन्द्र पागल सहितका सहभागिले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनका लागि नगरपालिकाले छुट्टै समिति निर्माण गरी कार्यक्रम अघि सार्नुपर्ने धारणा राखेका छन् ।

मोरङ, सुनसरी र झापाका सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा, साहित्यकारहरु रेखा सुवेदी, विष्णु न्यौपानले, भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, कृष्णप्रसाद अधिकारी, इन्दिरा नेपाल, मञ्जरी घिमिरे, भवानी दुलाल, लक्ष्मी सुवेदी, दीपक दियालो, रविन भट्टराई सहितले कविता, गजल तथा देव गुरुङ, अर्जुन सेन्चुरी, निर्मला विश्वकर्मा, आशा लिम्बू सहितले गीत प्रस्तुत गरेका छन् । संस्थाका अध्यक्ष टीकाराम राईको अध्यक्षता र सहसचिव अर्जुन सेन्चुरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।