काठमाडौँ/ नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाएका हुन् ।

“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको विरुद्ध काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उनले भने । उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।

सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने बताए । उनले पार्टीभित्रको अन्तरघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पारे । दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र काँग्रेसभित्रको अन्तरघातले पार्टी पराजय भएको उनको भनाइ थियो ।

एकदिने भेलामा पार्टी जिल्लाका नेता तथा कार्यकर्ताबाट आएको सुझावलाई समावेश गरी केन्द्रीय समितिमा पठाइने काठमाडौँ काँग्रेसका सभापति सवुज बानियाँले जानकारी दिए ।

रासस