धरान । रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।

झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर ६ का ३५ वर्षीय थापालाई निर्दोष सावित गर्दै चन्द्रगढी कारागारबाट बुधबार मुक्त गरिएको छ ।

रक्तचन्दन लुकाएको अभियोगमा मेचीनगर १० का अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार दुई सय जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर मुद्दामा नाम मिलेका श्याम पक्राउ परेका थिए । फरार खोज्दा प्रहरीले कतारबाट नेपाल फर्किएका निर्दोष श्यामलाई पक्राउ गरी कारागार चलान गरेको छ ।