शनिश्चरे । जंगली हात्तीको समूहले मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीका सूर्यमान विश्वकर्माको घर भत्काएको छ ।

५ वटाको संख्यामा आएको हात्तीले विश्कर्माको घरमा बेरा लगाएको जस्तापाता, एउटा पिलर भत्काएर ७ मन धानको चामल, १ मन धान र करिव १ मन तोरी खाएर क्षति पुर्याएको हो ।

शुक्रवार विहानको राती दक्षिणको डाँसखोलातर्फबाट आएका हात्तीले कुलबहादुर श्रेष्ठको मकैबारी हुँदै आएर सो घर भत्काउनुकासाथै स्थानीयको भर्खर रोपेको धानवाली कुल्चिएर क्षति पुर्याएको स्थानीय शंकर दहालले बताए ।

गाउँले मिलेर पुल्ठो बालेर हात्तीलाई त्यसभन्दा पश्चिमको जंगलतर्फ लखेटेका थिए । नगरपालिका प्रमुख दिलीपकुमार राईले विश्वकर्माको घरमा पुगेको क्षतिको अनुगमन् गरेका छन् ।

केही समय यता पथरीशनिश्चरेको हसन्दह, जिरिखिम्ती, ऐयावारी तथा कानेपोखरी क्षेत्रमा हात्तीले त्रास सिर्जना गर्दै आएको छ ।