काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलको विषयमा केही देशले भ्रम छरिरहेको बताएका छन्। २ हजार ५ सय ६२ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शाक्यमुनि बुद्ध नेपालमा जन्मिएका थिए। बुद्ध नेपालमा जन्मिएका हुन् भन्नुपर्ने आवश्यक नै छैन। किन केही मानिसहरु संसारलाई भ्रम छर्ने प्रयास गरिरहेका छन् थाहा छैन ?’ बुद्ध नेपालमा जन्मिका हुन् भन्नेमा कुनै दुविधा र भ्रम नभएको भन्दै ओलीले भने, ‘म विश्वका सम्पूर्ण सरकार, बुद्धिजीवी, संस्था र ब्यक्तिलाई आग्रह गर्न चाहन्छु, भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल हो र बौद्ध धर्मको दर्शन नेपालबाट सुरु भएको थियो। यसमा विवाद गर्नु हुदैन।’ ओलीले अगाडि भने, ‘केही देशले विद्यालय कलेजका पाठ्य पुस्तकका बुद्ध नेपालमा जन्मिएका होइनन् भनेर गलत तथ्य राखेका छन्। र गुम्बाहरुमा बुद्ध नेपालमा जन्मिएका होइनन् भनेर भ्रम छरिरहेका छन्, त्यो राम्रो होइन।’ ओलीले भगवान् बुद्धले दिएका उपदेशको महत्त्व दिनानुदिन बढिरहेको र बुद्धले त्यस समयका बिकृति मूल्य र मान्यतासँग बिद्रोह गरेको बताए।