पानवारी ।  इलाममा उत्पादन भएको चियाको प्रदर्शनी तथा विक्रिका लागि धरानमा ३ दिने ‘इलाम टि एक्स्पो’ हुने भएको छ । धरान उपमहानगरपालिका र इलाम नगरपालिका विच गत वैशाख १ गते स्थापित भएको भगिनी सम्बन्ध पश्चात दुवै नगरको संयुक्त आयोजनामा हुन लागेको पहिलो कार्यक्रम हो । चिया विक्री तथा प्रदर्शनी कार्यक्रममा इलामको चियाको प्रबद्र्धन गर्ने मुख्य उदेश्य भएको इलाम नगरपालिकाका प्रबत्ता ठाकुर श्रेष्ठले जानकारी दिए । प्रदर्शनी यही बैशाख १९ गतेदेखि २१ गतेसम्म चल्ने समेत श्रेष्ठले जानकारी दिएका छन् । एक्स्पोको बारेमा जानकारी दिन मंगलबार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा धरान उपमहागरपालिका मेयर तारा सुब्बाले दुई नगरबीच स्पापित भएको भगिनी सम्बन्ध पश्चात हुन लागेको पहिलो कार्यक्रम सफल पार्नका लागी सम्पूर्ण धरानबासीलाई प्रदर्शनीमा सहभागी हुन अनुरोध गरेका थिए । प्रदर्शनी धरान–१२ स्थित छाताचोकमा हुने प्रदर्शनीमा विभिन्न ३० वटा स्टल रहनेछन् । जसमा २० वटा स्टर चियाको रहनेछ भने १० वटा स्टलहरु इलाममा उत्पादन भएको दुग्धजन्य वस्तुहरु र कृषि उत्पादन समेत रहने कार्यक्रमको सह–आयोजक इलामेली समाज सुनसरी मोरङका अध्यक्ष कृष्ण शाहले बताएका छन् । साथै इलाम र धरान दुई नगरको संयुक्त आयोजनामा हुने कार्यक्रम भएको प्रदर्शनीमा धरानमा उत्पादन भएको अर्गानिक कृषि वस्तु, बासका सामाग्री समेत प्रदर्शनीमा रहनेछ । साथै धरानका पर्यटकीय क्षेत्रको फोटो समेत प्रदर्शनि हुने प्रदर्शनी आयोजक समितिकी संयोजक तथा धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले बताइन् । कार्यक्रमको उद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले गर्नेछन् भने धरान उपमहानगरपालिका र इलाम नगरपालिकाका प्रमुखले कार्यक्रमको अध्यक्षता गर्ने जनाइएको छ । त्यस्तै गरी प्रदर्शनीमा इलाम नगरपालिकका १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु साथै प्रमुख, उपप्रमुख सहित इलामका पत्रकारको टोली सहभागी हुने इलाम नगरपालिकाका प्रबत्ता ठाकुर श्रेष्ठले जानकारी गराएका छन् । चियाको प्रबद्र्धन गर्ने कार्यक्रम भएकोले विशेष गरी कार्यक्रममा सहभागी भएकाहरुलाई निःशुल्क चिया टेष्टीङ गर्न दिइने समाजका अध्यक्ष शाहले बताए । उनका अनुसार इलामका चिया उत्पादकहरु र धरानका चिया विक्रि गर्ने व्यवसायीहरुबीच भेटघाटको कार्यक्रम, इलाम र धरानका पत्रकारहरुबिचको भेटघाट कार्यक्रम समेत राखिएको छ । इलाममा नेपालकै सबैभन्दा पुरानो चिया कारखाना रहेको र उक्त कारखाना सांघाइका व्यवसायीले केन्द्रीय सरकारसँग सम्झौता गरी लिएकोले सो कारखाना स्थानीय तहमा नै फर्काउन लबिङ गरिरहेको इलाम नगरपालिकाका प्रबत्ता ठाकुर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार करिब १ सय ५० वर्ष पुरानो चिया कारखाना अहिले जिर्ण अवस्थामा रहेकोले त्यसको जिर्णाेद्धार गरेर चिया उत्पादन बढाउने लक्ष्य स्थानीय सरकारले राखेको बताए । उनले इलाममा उत्पादन भएको चियाको उचित मुल्य सम्बन्धित किसानले नपाएको भन्दै धरान लगायतका स्थानमा हुने इलामको चिया प्रदर्शनीले मूल्य समायोजनमा सहयोग पुग्ने आशा समेत श्रेष्ठले व्यक्त गरेका थिए ।