बिर्तामोड । इलामको रोङ गाउँपालिकाकी ७७ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन् । दक्षिण–पूर्वी इलामस्थित रोङ गापा–१ की वृद्धा आफ्नै घरमा सुतिरहेको बेला बलात्कृत भएकी हुन् । वृद्धाकी छोरीका अनुसार उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए । ती व्यक्तिले बलात्कारपछि वृद्धाको जिब्रो चुँड्याउने प्रयास गरेका थिए । अहिले झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा वृद्धाको उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ । घटनाको खबर पाएपछि रोङ–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल, गापाका प्रवक्ता सुवास तामाङ र प्रहरीको एउटा टोलीले अस्पताल आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । यद्यपि प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्न भएको शंका लागेका अर्का एकजना फरार रहेको गापाका प्रवक्ता तामाङले बताए । घटनापछि वृद्धालाई उपचारका लागि सोमबार बिहान १० बजे झापा ल्याइएको थियो । उनको उपचार बिर्तामोडमा भइरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पीडितकी छोरीले बताइन् । वृद्धाले पीडकलाई पहिचान गर्न सक्ने भए पनि उनी बोल्न नसक्ने भएकीले अहिले नै पीडकबारे थाहा हुन नसकेको तामाङले बताए । पीडित परिवारको भान्सा घर र सुत्ने घर केही दुरीमा छ । वृद्धा बाथ रोगबाट पीडित छिन् । सधैँभैmँ खाना खाइसकेपछि उनका श्रीमान् र छोरा सुत्नका लागि अर्काे घरमा गए । रोगका कारण सिँढी चढ्न नसक्ने भएपछि उनी त्यहीँ सुत्ने गरेकी थिइन् । राति ११ बजे हल्ला भएपछि उनका छोरा आउँदा त्यहाँ भयावह दृश्य देखिएको थियो । छोरा आएपछि पीडक फरार भएका थिए भने वृद्धाको जिब्रो चुँड्याइएको थियो ।