चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ स्थित किसानको केरा फाँडेको आरोपमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट उनीहरु पक्राउ परेका हुन्।

घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तिब्र पारिएको थापाले जानकारी दिए। उनीहरुको पहिचान भने खुलाइएको छैन। प्रारम्भिक जानकारी अनुसार नशाको सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारणको बारेमा अनुसन्धान भैरहेको बताए।

सो घटनाको अनुसन्धान र दोषी पक्राउ गरी कारवाहीका लागि अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ। पक्राउ परेका तीनै जना रत्ननगर प्रहरीको हिरासतमा छन्। अज्ञात समूहले सोमवार राति १२ जना केरा किसानको ३ हजार ९४ बोट केरा बगान मै पसेर नष्ट गरेको थियो।

अनुमानित १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यष विष्णुहरी पन्तले दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन्। केरा किसान नवराज धितालको १५०, शोभा भट्टको ६००, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुब आचार्यको ३५ बोट केरा नष्ट भएको छ। यस्तै, कोपिला दाहालको १ हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पुर्णबहादुर खड्काको ९७ र भुमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ।