धरान । सिन्डिकेटका नाममा राज्यपक्षले यातायात व्यवसायीलाई आपराधिक शैलीमा पक्राउ गरेको भन्दै नेपाली काङ्ग्रेसको धरान नगर समितिले यसप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले वार्ताका माध्यमबाट समस्या हल गर्नुको साटो अपराधीजस्तै धरपकड गरेकोमा नगर समितिको गम्भीर ध्यानाकर्षण भएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । सिन्डिकेटका नाममा सरकारबाट एकपक्षीय ढङ्गले व्यवसायीमाथि प्रहार भएको काङ्ग्रेसले ठहर गरेको छ । सरकारले राजधानी तथा शहरी, ग्रामीण र पहाडी क्षेत्रलाई आधार मानेर वर्गीकरण गरेर यातायात व्यवस्थापन गर्नुपर्नेमा राजधानी केन्द्रित नीति–नियमबाट व्यवसायी पीडित बनेको नगर सचिव श्याम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सिन्डिकेट सबै क्षेत्रबाट हट्नुपर्छ । त्यसका लागि सरकार व्यवस्थित भएर अगाडि बढोस् र राष्ट्रिय पूँजीपति, श्रमजीवी, स्वरोजगार यातायात व्यवसायीहरूलाई नगरेको गल्तीको भागिदार बनाउन आज यो सरकार लागिरहेको छ ।’ काङ्ग्रेसले पक्राउ गरिएका व्यवसायीहरूलाई स–सम्मान रिहा गरी वार्ताको माध्यमबाट सहमति कायम गर्न आग्रह गरेको छ ।