मधुमल्ला । गत बर्ष बक्राहा खोलामा आएको बाढीले मोरङको उर्लाबारी–८ स्थित सन्थाल बस्ती विस्थापित बन्यो । तर, अझैसम्म खोलामा प्रभावकारी तटबन्धन गर्न सम्बन्धित निकायले ध्यान दिएको छैन । भूमि कन्ट्रक्सनले खोला तटबन्धनका लागि तारजाली गर्ने ठेक्का पाएको छ । तारजालीले मात्रै खोला तटबन्धन नहुने भन्दै स्थानीयले दुई वटा स्पर बनाउन माग गरेका छन् ।
शनिबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले सो क्षेत्रको अवलोकन गरेका छन् । उनले दिगो तटबन्धनका लागि सम्बन्धित निकायमा कुरा राख्ने बताएका छन् । जनतालाई सुरक्षित बनाउनु राज्यको दायित्व भएको सांसद लिम्बूले उल्लेख गरे । सांसद लिम्बूसहित उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की लगायतले स्थलगत अवलोकन गरेका थिए । खोलामा तारजालीमात्र लगाएर नहुने उल्लेख गर्दै स्थानीय तोमनाथ गौतमले बताए । उनले स्पर नबनाए उर्लाबारी–८ र ९ का साथै रतुवामाई नगरपालिकामा पनि क्षति पुर्याउने भएकाले समयमै ध्यान दिन आग्रह गरेका छन् ।