भद्रपुर/झापाको काँकडभिट्टामा यात्रुवाहक बसमा बम विस्फोट गराएको आरोपमा नेत्रबहादुर चन्द ’विप्लव’ नेतृत्वको नेकपामा आवद्ध एक महिला कार्यकर्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा मेचीनगरका न्याय विभाग प्रमुख मेचीनगर ८ निवासी २६ बर्षीया स्मृति रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  घटना विवरण अनुसार मेचीनगर नगरपालिकास्थित सुर्योदय यातायात प्रा.लि. द्धारा सञ्चालित मे १ ख २७२६ र मे १ ख २७३३ नम्बरको यात्रुवाहक बसमा आइतबार विहान बम विस्फोट गराएको झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बिस्फोटबाट दुई वटा बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ परेको डिएसपी बस्नेतले जानकारी दिए । पक्राउ परेकीरिजालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको छ । सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम निस्कृय टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।  नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आइतवार गरेको नेपाल बन्दको प्रभाव झापामा आंशिक परेको छ ।