विजयपुर । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाले चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो । नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायु क्षेत्रबाट १२ जनाको उद्धार गरिएको छ ।

विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ३६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले हेलिकप्टर र स्थलमार्गबाट फौज परिचालन गरेको छ। प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।