भद्रपुर/ प्रहरीले झापाको भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको कपडा तथा भारत लैजादै गरेको स्याउ गरि दुइ लाख मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतको गलगलिया हुदै भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट भद्रपुर बजारतर्फ भित्राइएको दुइ बोरा लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोली बरामद गरेको वडाका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए । बरामद गरिएको वोरा कपडालाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । त्यसैगरि नेपालबाट भारत तर्फ लैजादै गरेको तीनसय किलो स्याउ प्रहरीले बरामद गरेको जनाएको छ । भद्रपुर ५ चिया बगान हुदै भारतको गलगलिया लैजादै गरेको अवस्थामा स्याउ बरामद गरिएको जवेगूले जानकारीे दिए । सामाग्री शनिबार साँझ प्रहरीले बरामद गरेको जनाएको छ । केही समययता भद्रपुरमा तस्करी गतिविधि रोकिएको थियो । तर, अहिले पुनः सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ रहेकै बेला तस्करी गतिविधि हुन थालेको छ ।