विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अबको एक मिहना भित्रमै सहमितमानै प्रदेशको नामकन र राजधानीको टुंगो लगाउनु बताएका छन् । उनले आउँदो जेठ महिनाभित्र सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको टुंगो लगाउने गरी छलफल भइरहेको जानकारी दिए । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्याक्रममा आइतबार विराटनगरमा बोल्दै मुख्यमन्त्री राईले संघीयता असफल बनाउन र प्रदेश सरकारलाई असफल बनाउन विभिन्न चलखेल भइरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विभिन्न संचारमाध्यामलाई कसैले बहकाउमा लागेर प्रदेशको राजधानी सर्दैछ भन्ने भ्रामक प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले त्यसखालका बहकावमा नलागी सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

पदस्थापनका अवसरमा बोल्दै नवनिर्वाचित १ नम्बर प्रदेश नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलले प्रदेशभरीका संचारमाध्याम र श्रमजीवि पत्रकारको हितमा आफू लाग्ने बताए ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका सचेतक केदार कार्की, विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीलगायतले बोलेका थिए । पद स्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको थियो ।