भद्रपुर । अनुगमन गर्ने आधिकारीक निकायले चासो नदेखाउँदा झापाका नदी तथा खोला दोहन भइरहेको पाइएको छ । मापदण्ड बिपरीत ठेकेदारले झापाका नदीबाट नदीजन्य सामग्री (गिट्टी, बालुवा) धमाधम निकाल्दै आइरहेको भएतापनि सम्बन्धित निकायले यसतर्फ कुनै चासो देखाएको पाइदैन । जिल्ला समन्वय समिति झापाले निर्धारण गरेको मापदण्ड विपरीत ठेकेदार तथा तिनीका सह ठेकेदारले नदीजन्य सामग्री उत्खन्न कार्य गरिरहदाँ समेत सवै तै चुप मै चुपमा सीमित रहेका छन् । ठेक्का लिएको कम्पनीले मापदण्ड अनुसार खोला उत्खन्न गर्ने जिससमा लिखित सम्झौता गरेको छ । तर, अहिले झापाका अधिकाशं खोला तथा नदीमा आफूखुशी स्काभेटर प्रयोग गरेर ३ देखि ५ मिटर गहिराइ सम्म उत्खन्न गरिरहेको फेला परेको छ । नियममा १ मिटर भन्दा बढी नपाउने जिससको प्रतिवेदनमा उल्लेख छ । समन्वय समितिले मेचीनगर नगरपालिका १५ ज्यामिरगढीबाट बग्ने निन्दा खोलाको तीन स्थानबाट खोलाजन्य सामग्री निकाल्ने स्थान तोकिएको छ । बोकेमात, टावरनाका र खवासबस्तीबाट खोलाजन्य सामग्री निकाल्न अनुमति दिएको छ । तोकिएको तीनै स्थानबाट उत्खन्न गरिने खोलाजन्य सामग्री घनमिटर अनुसार उत्खन्न भइसकेको भएपनि ठेकदारले अझै निरन्तरता दिएको कर्मचारी स्रोतको दावी छ । ती खोलाको ठेक्का राजकुमार थापाले लिएका छन् । अहिले ती खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरेर समन्यव समिति र जिल्ला प्रशासन कार्यालय झापाको आदेश बिपरीत गिट्टी बालुवा निकाल्दै आइरहेको सम्बन्धित पक्षलाई थाहा भएको स्थानीय सुभाष राईले बताए । ‘उत्खन्न गर्ने म्याद सकिसकेको मैल बुझेको छु, उनले भने, ‘तैपनि ठेकेदारले बलपूर्वक उत्खन्न गर्दै खोलालाई दोहन गरिरहेको छ ।’ यता जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार निन्दा खोला राजमार्ग उत्तरतर्फ ११ हजार घनमिटर उठाउन बाँकी छ । ‘सो क्षेत्रमा मात्र उत्खन्न गर्ने पाइने भनि ठेकेदारलाई पत्र पठाइसकेका छौ, उनले भने, ‘ राजमार्ग दक्षिणी ज्यामिरगढीको निन्दा खोलाबाट उत्खन्न कार्य गर्न पाइदैन ।’ ‘ठेकेदारले मापदण्ड विपरित उत्खन्न गरिरहेको जानकारी नआएकोले अव तत्काल प्रशासन कार्यालयमा पत्रचार गरी उत्खन्न कार्य रोक्ने छौ, उनले भने । उनका अनुसार अहिले झापाका अधिकाश नदीमा तोकिएको घनमिटर उत्खन्न भइसकेको छ । मेची, हडिया, टिमाई खोलामा उत्खन्न गर्ने नपाइने भनि ठेकेदार पक्ष र प्रशासन कार्यालयलार्इं पत्रचार गरिसकेको उनले बताए । त्यसैगरी भद्रपुरस्थित देउनिया खोलामा पनि मापदण्ड विपरित उत्खन्न कार्य भइरहेको छ । जिससले तोके अनुसार देउनिया खोलाबाट १५ हजार ४१३ घनमिटर उत्खन्न गर्ने पाइन्छ । तर, अहिले पेटी ठेकेदारले तोकिएको स्थान भन्दा फरक ठाँउबाट उत्खन्न गरिरहेको छ । कलबलगुरीको सुकुम्बासी बस्ती, भद्रपुर बिर्तामोड सडक खण्डमा पर्ने देउनिया पुल उत्तरमा उत्खन्न भइरहेको छ । ठेकेदारले मापदण्ड विपरित तोकिएको स्थानमा ३ देखि ४ मिटर गहराई बनाइ खोला दोहन गरिरहेको स्थानीयको आरोप छ । तत्कालिन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिले आइइइ प्रतिवेदन अनुसार झापाका ११ वटा खोला तथा नदीको ठेक्का लगाएको थियो । चालु आर्थिक बर्ष ०७४।७५ का लागि साम्सुहाङ विल्डर्स कम्पनी गौरादहले १३ करोड १३ लाखमा ठेक्का लिएको जिससले जनाएको छ ।