खाँदबारी/जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् । सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागद्धारा डेढ वर्ष अघि नै सरुवा पत्र आए पनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् ।

अहिले पनि स्वास्थ्य कार्यालयका ६ जना कर्मचारीहरु सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिहेका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनीता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपू स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए ।

तर उनीहरु अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।विभागले राधिका कोइरालाको डेढ वर्ष अघि नै धुपू स्वास्थ्य चौकीमा सरुवा गरेको हो । त्यसको तीन महिना पछी स्वास्थ्य मन्त्रालयले कोईरालाको रमाना पत्र नदिन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेको श्रेष्ठले बताए । सरुवाका कर्मचारी सबै जसो स्थानीय भएका कारण सरुवा हुन अटेर गर्ने गरेका छन् ।

उनीहरु कुनै पनि बहानामा जिल्ला अस्पतालमा नै काम गर्ने देखिएको छ भने सरुवा भएका स्वास्थ्य केन्द्रहरुमा स्वस्थ्य कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सरुवा गरिएका स्थानीय तहबाट काज फिर्ता गरिदिन जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक पत्राचार समेत गरिएको छ । तर काज फिर्ताका लागि महिनौं अघि नगरपालिकाले लेखेको पत्रको अटेर गर्दै उनीहरु सदरमुकाम छोडेका छैनन् ।

जिल्लामा रहेर स्वास्थ्य क्षेत्रमा काम गरीरहेका विभिन्न एनजीओ आइएनजीओहरुले दिने तालिम गोष्ठीमा काजका कर्मचारीहरुको कारण विवाद उत्पन्न हुने गरेको छ ।