भद्रपुर । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैदको सजाय भोगिरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिने गरी गरेको निर्णयको विवेकशील साझा पार्टीले बिरोध जनाएको छ । गणतन्त्रको अवसर पारेर नेपाल सरकारले गरेको निर्णयप्रति बिरोध जनाउदै झापामा ज्ञापन पत्र बुझाएको हो । पार्टीका सदस्य चण्डी अधिकारी, केवल सापकोटा,सन्तोष घिमिरे, चन्द्र मैनालीसहितको टोलिले बुधबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहाल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । गणतन्त्रको भावना र मर्म विपरीत कानूनी राज्यको अवधारणा समेतको उल्लंघन गर्दै माओवादी द्धन्द्धको नेतृत्व गरिरहेका नेता ढुंगेललाई आम माफी दिने गरी गरेको निर्णय प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कैद मिनाहाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट विचाराधिन रहेकै अवस्थामा सरकारको निर्णयबाट सात महिनामा रिहा भएकोमा आपत्ती जनाएको पत्रमा समावेश गरिएको छ । कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा सजाय माफी पाउनु द्धन्द्ध पीडितलाई थप पीडा दिनु पार्टीको ठहर रहेकोले आममाफी नदिन सरकारसँग जोडदार माग गरेको जनाएको छ ।