जिजयपुर । हिन्दुधर्मावलम्बीहरूको प्रमुख पर्व बडादसैँ आजदेखि विधिवत् सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ ।

घटस्थापनाका दिन बिहान नित्यकर्म समाप्त गरी चोखो स्थानबाट ल्याइएको बालुवा वा माटो पूजा कोठा अथवा दसैँ घरमा राखी त्यसमा यव अर्थात् जौँ रोप्ने परम्परा छ । यसलाई जमरा राख्ने भनिन्छ। जौँको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले विजयादशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गर्ने चलन छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि कुल परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्नसमेत रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ११:४७ बजे

आज घट अर्थात् कलश स्थापना गरी शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:४७ बजे घटस्थापनाको साइत तोकेको छ ।

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र रहेकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत दिइएको हो । सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले बताए ।

सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भन्दै फैलाइएको सूचना शास्त्रसम्मत नभएको पनि समितिले जनाएको छ ।

नवरात्रभर दुर्गा देवीका तीन प्रमुख रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ ।

नौ दिन नौ दुर्गाको पूजा

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ रूपलाई नवदुर्गा भनिन्छ ।

दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी प्रवृत्तिका प्रतीक मानिएका राक्षसको वध गरेको धार्मिक मान्यताअनुसार नवरात्रमा विशेष पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्षसमेत भनिन्छ ।

घटस्थापनादेखि महानवमीसम्म प्रत्येक दिन दुर्गाको प्रतीकका रूपमा छुट्टाछुट्टै कन्याको पूजा गर्ने परम्परा छ । शास्त्रीय विधानअनुसार पूजा गरिने कन्या दुई वर्षभन्दा माथिका हुनुपर्ने मान्यता छ ।

सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत तथा शक्तिपीठमा बलिसहित विशेष पूजा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र तथा स्तुतिको पाठपारायण गर्ने गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

विजयादशमीको साइत कात्तिक ४ गते

नवरात्र नौ रात र १० दिनको हुन्छ । आज घटस्थापना गरी आह्वान गरिएको दुर्गा देवीलाई कात्तिक ४ गते बुधबार विजयादशमीका दिन विसर्जन गरिन्छ । समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८:४९ बजे रहेको छ ।

विजयादशमीका दिन टीका तथा जमरा ग्रहणका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी रातभर जाग्राम रहेर पूजा गर्ने धार्मिक विश्वास छ । घटस्थापनाका दिन राखिएको जमरा पनि सोही दिन चोखो स्थानमा लगी विसर्जन गर्ने परम्परा छ ।