शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित एभरेष्ट आर्ट फ्यूजनले आफ्नो स्थापना दिवशका अवसरमा पथरी वहुमुखी क्याम्पसको पर्खालमा लागू औषध विरुद्धको पेन्टिङ निर्माण गरेको छ ।

क्याम्पससँगको सहकार्यमा एभरेष्ट आर्टका कलाकारहरु ,बुद्धिमान धिमाल, धनवहादुर लिम्बू, भरत तामाङ, इन्द्र लिम्बू र नवराज लिम्बूले लागू औषधले परिवारमा अशान्ती फैलिएको चित्र तयार गरेका छन् । अर्धअमुर्त सो चित्रको छेउमा ‘नो ड्रग्स’ लेखि युवाहरुलाई सचेत गराइएको छ ।

संस्थाकी संस्थापक अध्यक्ष चित्रकार सरोजा खड्गीको अवधारणामा सो चित्र निर्माण भएको हो । क्याम्पस तहमा पढ्न आउने विद्यार्थीमा लागू औषधको विकृति रोक्न त्यसखाले काम गरिएको खड्गीले जनाउनु भएको छ ।

०६६ साल जेठ ७ मा स्थापित संस्थाले अघिल्लो वर्ष बुद्ध जयन्तीको समेत अवसर परेको स्थापनमा दिवशमा पञ्चायत माविको पर्खालमा शान्ति सन्देशको पेन्टिङ निर्माण गरेको थियो । संस्थाले कला, साहित्यिका गतिविधिमा क्रियाशिलता देखाइरहेको छ ।

तमु वौद्ध गुम्वाको समेत सहकार्यमा फ्यूजनले प्रत्येक महिनाको पहिलो शुक्रवार सृजना प्रस्तुतिको ‘सृजना चौतारी’ कार्यक्रम गुम्वामा गर्दै आएको छ ।