पानवारी । परिवर्तनको आशा नेपाल नामक एक गैरसरकारी संस्थाले आफ्नो प्रथम वार्षिकोत्सव बालआश्रममा मनाएको छ ।

संस्थाको पहिलो वार्षिकोत्सव धरान स्थित सरस्वती बाल आश्रममा रहेका २५ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेर तथा उनीहरुलाई बेलुकीको खाना खुवाएर मनाइएको हो । परिवर्तनको आशा नेपालको केन्द्रीय कार्यालय काठमाडौमा रहे पनि पहिलो शाखा धरान भएको भन्दै धरानमा नै वार्षिकोत्सव मनाइएको संस्थाका महासचिव पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार बाल आश्रमका २५ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण संस्थाका सल्लाहकार समेत रहेका सिनियर अहेव सहविर विक, ल्याब टेक्निसियन पूर्ण गुरुङ र असिस्टेन्ट ल्याब टेक्निसियन काजिमान गिरी सम्मिलित टोलीले स्वास्थ्य परिक्षण गरेको हो । सबै बालबालिकाको जण्डिस, टाइफाइड, दिशा परिक्षण र पिसाबको परिक्षण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विकास लम्सालले गरेका थिए भने प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं. ३ का कार्यवाहक अध्यक्ष विकास कुमार बनेपालीले रहेका थिए ।