विराटनगर । प्रदेश नम्बर १ वर्षे अधिवेशन सुरु भएको छ । गत वैशाख २८ गते अन्त्य भएको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु भएको हो । वर्षे अधिवशेनको पहिलो बैठकमा प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रदेशसंसद समक्ष प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदको बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

प्रदेश सरकारका योजनाहरु सार्वजनिक गर्दै मन्त्री आङ्बोले प्रदेश सरकारको दीर्घकालिन उद्देश्य समृद्ध प्रदेश, सुखी प्रदेशवासी भन्ने नारालाई कार्यान्वयन गरिने बताए । उनले सरकारी खर्च तथा सेवा प्रवाहमा भ्रष्टाचारको शून्य सहनशीलताको सिद्धान्तलाई अंगिकार गर्दै आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख छ । उनले उर्जा विकास, वित्तीय सुशासनका लागि पारदर्शीता, जवाफदेहिता र सुशान कायम गरिने उल्लेख गरे ।

३७ बुँदामा प्रस्तुत प्राथमिकता र सिद्धान्तमा संघीय सरकारको सहकार्यमा प्रदेशभित्र विशेष आर्थिक क्षेत्रको स्थापना गर्ने, सार्वजनिक नीजि साझेदारीको रुपमा प्रदेशभित्र नयाँ औद्योगिक कोरिडोरको पहिचान तथा व्यवस्थापन गर्ने पनि उल्लेख छ ।

वर्षे अधिवेशनमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले पार्टीगत आस्थाका आधारमा सरकारले कार्यकर्तालाई धरपकड सुरु भएको भन्दै आपत्ती जनाए । उनले सुनसरीका नेपाल तरुण दलका सभापति तथा कांग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई मध्यरातमा विना कारण पक्राउ गरेको भन्दै सरकारको जवाफ माग गरे ।

यसअघि बैठकको शून्य समयमा बोल्दै सांसद इन्दीरा राईले महिलालाई मन्त्रिपरिषदमा सहभागी गराउनु पर्ने माग गरिन् । यस्तै सांसद सावित्री रेग्मीले मनमोहन पोलिटेक्निकल कलेजलाई प्राविधिक विश्वविद्यालय बनाउनुपर्ने र विराटनगर जुटमिलको बारेमा छानविन समिति बनाएर के गर्दा हुन्छ आवश्यक निर्णय लिनुपर्नेमा जोड दिइन् । संसद वैठक भोली (शुक्रबार) पुनः बस्नेछ ।