-
Home
-
सिनेमा
-
एसएसपी खत्रीको बयानः सुन भेटिएको छैन, म कसरी तस्कर ?
एसएसपी खत्रीको बयानः सुन भेटिएको छैन, म कसरी तस्कर ?
काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अदालतमा इन्कारी बयान दिएका छन् ।
उनले आफूलाई मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले फसाउन खोजेको आरोप लगाएका छन् । जिल्ला अदालत, मोरङमा बिहीबार बयान दिँदै उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् ।
‘मलाई फसाउन खोजिएको छ । मैले पैसा पनि लिएको पनि छैन’, उनले भनेका छन्, ‘डायरीमा मेरो नाम किटान गरिएको छैन । एसएसपी त प्रहरीमा म मात्रै छु र ?’
उनले गोरेलाई गोविन्द निरौलाको साथीको छोरा भएको नाताले चिनेको बताएका छन् । उनीसँगको भेट बारे बताउँदै उनले भनेका छन्, ‘एक दिन विमानस्थलको गेटमा केटाहरुसँग झगडा गरेको भेटेको थिएँ । त्यतिवेला हप्काएको थिएँ ।’
उनले ‘सुन त छैन, म कसरी तस्कर भएँ’ भनेर समेत प्रश्न गरेको अदालत स्रोतले जनाएको छ ।
उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।
यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।