पानवारी । धरान उपमहानगरपालिकामा आइतबार उपमहानगरपालिका, टेम्पो व्यवसायी र ट्राफिक प्रहरीका प्रतिनिधि बिच भएको त्रिपक्षिय वार्ताबाट भर्खरै वृद्धि भएको टेम्पो भाडा तत्काल कार्यान्वयन नगर्ने सहमती भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै धरानमा टेम्पो व्यवसायीहरुले वृद्धि गरेको टेम्पो भाडा तत्काल बृद्धि नभइ साविककै कायम हुने र भाडा निर्धारण गर्न एक समिति गठन गरिएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बैठकले भाडा निर्धारण गर्न धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ, जसको सदस्यहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च धरानका एक प्रतिनिधि र टेम्पो व्यवसायीबाट २ जना प्रतिनिधी रहनेछन् । पहिला लोकल रुटमा २० रुपैया भाडादर भएकोमा अहिले त्यसलाई बढाएर ३० रुपैया बनाइएको थियो ।

अध्ययन बिना बढाइएको भन्दै त्यसलाई तत्काल कार्यान्वयन नगर्ने सहमती गरीएको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाले बताए । उलने भने –‘आज बसेको वैठकले तत्काल बृद्धि गरेको भाडादरलाई घटाएर साविककै कायम गर्ने, यदी कसैले बढी भाडा लिएको थाहा भए प्रशासनले अनुगमन गरी तत्काल कारवाही गर्ने र यथासक्य चाडो समितिको वैठक बसी भाडादर कायम गर्ने सहिमती भएको छ ।’ साथै उनले भाडादर कायम गर्दा अब दुरी मात्र नभइ भूगोल समेत हेरेर निर्धारण गरिने बताए ।

छलफलबाट भाडादर निर्धारण गर्न एक समिति बनेको छ र त्यो समितिले तत्काल काम थालेर भाडादर कामय गर्ने सहमती भएको टेम्पो व्यवसाय समिति धरानका अध्यक्ष डिवि गुरुङले बताए । उनले प्रतिलिटर पेट्रोलको मुल्य ९५ हुदा कायम भएको भाडादर अहिले १ सय १३ पुग्दासम्म सोही भाडादरमा टेम्पो चलाउन नसकिने भन्दै टेम्पो व्यवसायीको समस्यामा प्रशासनले चाडो निर्णय लिनुपर्ने बताए ।