विराटनगर । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आफ्ना नेता तथा सुनसरी जिल्लाका तरुण दलका सभापति सिजन गुरुङलाई बिना कारण थुनामा राखेको भन्दै प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठक सुरु हुन अघि नै गुरुङलाई रिहाइ गर्नुपर्ने माग राख्दै सभामुखको रोष्टम अगाडि उभिएर बैठक अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय गान पछि सभामुखले आफ्नो कारबाही अगाडि बढाउन खोज्दा नेपाली कांग्रेसका सांसद सभामुखको रोष्टम अगाडि उभिएपछि संसद अवरुद्ध गरेका थिए । सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नबसेपछि कांग्रेसका सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्न सभामुखले आग्रह गरेका थिए । सभामुखको आग्रह पछि संसदमा बोल्दै कार्कीले आफ्ना कार्यकर्ता पक्राउको विषयमा जानकारी नदिएका कारण संसद अवरुद्ध गर्नुपरेको बताए । गुरुङलाई सुनसरी प्रहरीले एक सता अगाडी पक्राउ गरेको थियो ।

त्यसपछि १० मिनेटका लागि स्थगित भएको संसद पुनः सुचारु भएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सत्तारुढ दलसँग सहमति भएपछि बैठक सुचारु भएको हो । आइतबारको बैठकमा पनि सांसदहरूले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति सहितको पूर्व बजेट सम्बन्धमा छलफल गरेका छन् । छलफलमा बोल्दै सांसदहरु नारायणबहादुर मगर, सीता थेबे, कुलप्रसाद साम्बा, एशोदा अधिकारी, कुशुम श्रेष्ठलगायतले आउने बजेटको प्राथमिकताका विषयमा बोलेका थिए ।