मधुमल्ला । गलत कार्य गर्ने जोकसैलाई नछाडिने उर्लाबारी प्रहरी प्रमुखले उद्घोष गरेकै भोलीपल्ट इप्रका उर्लाबारीकै एक जना सुरक्षाकर्मीले उदण्डता मच्चाएका छन् । सोमबार उर्लाबारीबासीसँग परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले फौजदारी कसुरमा मुछिएकाहरुप्रति शुन्य सहनशीलता अपनाउने बताएका थिए । तर, उर्लाबारी नगरपालिका पुगेका एक जना सेवाग्राहीलाई इप्रका उर्लाबारीबाटै खटिएका मेयरका सुरक्षा गार्डले निर्घात कुटपिट गरेका छन् । मंगलबार आफ्नो बहिनी ज्वाईको विवाद मिलाउन उर्लाबारी नगरपालिकाको न्यायिक समितिमा पुगेका सुनसरी इटहरीका मनिष भण्डारी पिटिएका हुन् । मेयर खड्ग फागोका सुरक्षा गार्ड नेपाल प्रहरीका हबल्दार सम्पत राजबंशीले विना कारण आफूलाई कुटपिट गरेको पीडित भण्डारीले बताए । उर्लाबारी–८ घर भएकी बहिनी ज्वाईको विवाद मिलाउन भण्डारी इटहरीबाट उर्लाबारी आएका हुन् । न्यायिक समितिको कार्यकक्षमा छलफल भइरहेको बेला बढि बोल्छस् भन्दै राजवंशीले कुटपिट गरेको उनको भनाई छ । कुटपिटका कारण २९ बर्षीय भण्डारीको अनुहार र छातीमा चोट लागेको छ । उनी रक्ताम्ये अवस्थामै इलाका प्रहरी कार्यालय उर्लाबारीमा न्यायका लागि पुगेका थिए । हबल्दार राजवंशीले म मेयरको सुरक्षा गार्ड भन्दै निर्घात कुटपिट गरेको पीडितको भनाई छ । यता उर्लाबारीले घटना गुपचुप राख्न खाजेको छ । घटनालाई सामान्य भन्दै प्रहरी कार्यालयले उजुरी लिन नमानेको पीडितले बताए ।