भद्रपुर । साविक पृथ्वीनगर गाविस हाल भद्रपुर क्षेत्रका पीडित स्थानीयबासीले बुधबार भद्रपुर नगरपालिका कार्यालय घेराउ गरेका छन् । सडक विस्तारको नाममा सरकारले सर्वसाधारण जनतालाई सुकुम्बासी बनाउन खोजेको भन्दै संघर्षमा उत्रिएका घर–नक्का पास पीडित न्याय माग समिति भद्रपुरले नगरपालिका विरुद्ध चर्को नाराबाजी गर्दै कार्यालय घेराउ गरेका हुन् । उनिहरुले दुई घण्टा कार्यालय घेराउ गरेका कारण नगरपालिकाको कामकाज प्रभावित बनेको थियो । भद्रपुर नगरपालिका अन्तरगतको वडा नम्बर १, २ र ३ को वडाका पीडित स्थानीयबासीको टोली भद्रपुरस्थित झापाचोकमा भेला भई निकालीएको विरोध र्याली बजार परिक्रममा गर्दै नगरपालिका पुगेका थिए । घर–नक्का पास पीडित न्याय माग समितिका संयोजक शिवकुमार राजभण्डारीले पीडित स्थानीयको माग सम्बोधन नभएकोले नगरपालिका घेराउ गर्दै धर्ना दिएको बताए । तीनै तहका सरकारलाई अल्टिमेटम दिएपनि अहिले सम्म हाम्रो माग पूरा नभएपछि स्थानीय सरकार समक्ष न्यायका लागि पुगेको बताए । यसपछि पनि हाम्रो माग पूरा नभए स्थानीय सरकार विरुद्ध कडा रुपमा आन्दोलित चर्काउने उनले चेतावनी समेत दिए । यसअघि पीडित स्थानीयले जमिनको उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित भद्रपुर नगरपालिका अन्तरगतको वडा नम्बर १, २ र ३ को वडा कार्यालय घेराउ गर्दै तालाबन्दी गरिसकेका छन् । झापाको चाराआली–केचना सहायक राजमार्ग विस्तारको नाममा सडक आसपासका साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका अन्तरगतका १, २ र ३ नम्बर वडामा बसोबास गर्दै आएका राजमार्ग आसपासका जमिन सरकारले कब्जा गर्न खोजेको भन्दै त्यहाँका ४ सय ५० घरपरिवार विस्थापित हुने छन् । निर्माणाधिन चाराआली–केचना सडक निर्माणको क्रममा हाल सडकदेखि दायाँबायाँ १५÷१५ मिटर सडक खाली गर्नुपर्ने प्रावधान अनुसार सडक छेऊका सर्वसाधारणले जमिन खाली गराइसकेका छन् । १५÷१५ मिटर जमिन खाली गराइसक्दा पनि सडक विभागले थप दायाँबायाँ ६÷६ मिटर साईड व्याकपका लागि खाली राख्नु पर्ने र त्यसभित्र घर बनाउन नपाइने प्रावधान तोकेपछि उनीहरु विगत चार महिनादेखि आन्दोलित बनेका छन् ।