पथरी । वन कर्मचारी र वन उपभोक्ता समितिको मिलेमतोमा ठूलो परिमाणमा अवैधरुपले सखुवाको काठ तस्करी गरिएको प्रमाण फेला पारे पनि सम्बन्धित निकायले अझैसम्म कारबाही नगरेको वनको उपभोक्ताहरुले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय मोरङ, अख्तियार अनुसन्धान दुरुपयोगमा उजुरी दिएको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म कुनै निकायले पनि कारबाही नगरेको उपभोक्ता ज्ञानेन्द्र राईले बताए । उपभोक्ता समितिहरुले नै व्यापकरुपमा काठ तस्करी गरिरहँदा पनि सम्बन्धित निकाय चुप बस्नु भनेको उनीहरुमाथि पनि शङ्का उब्जिएको राईले बताए । मोरङ पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वर चौहान, वन समितिका पदाधिकारीहरु र उर्लाबारी सेक्टर वनका वन अधिकृत तारणिप्रसाद चौधरीको संलग्नतामा कटान आदेशभन्दा ५० प्रतिशत बढी काठ कटान गरेको थियो । कटान आदेशभन्दा बढी काठ काटेको थाहा पाएपछि उपभोक्ताहरुले जिल्ला वन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दिएका थिए । उजुरीपछि वन समितिले कटान आदेशभन्दा बढी काटिएको काठको दोस्रो कटान आदेश भन्दै हतार–हतार सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका वन अधिकृत चौधरीले कटान आदेशपत्र बनाई वैधानिक बनाएको वडा नम्बर १० का वडाअध्यक्ष सागर राईले बताए । तर त्यो आदेश–पत्र जिल्ला वन कार्यालयले आधिकारिक नमान्ने बताएको छ । उजुरी दिएपछि जिल्ला वनले २०७५ वैशाख २१ गते अनुगमन गरेको थियो । जिल्ला वन कार्यालय मोरङकी सहायक वन अधिकृत सरोजा कोइरालाको नेतृत्वमा भएको नापजाँचका क्रममा सालको १ सय ८६ र करमको ६ वटा गरी १ सय ९२ थान टुना गरी जम्मा १८ सय ३१ क्यु.फिट काठ बढी काटिएको फेला परेको थियो । एक महिनाअघि पशुपति सामुदायिक वनले जिल्ला वन कार्यालय मोरङको च.नं.४११६, मिति २०७४ चैत २५ गतेको पत्रअनुसार २६ सय ७१.३४ क्यु.फिट कटान आदेश ल्याएको थियो । रुख काट्ने क्रममा वन समिति र वन कर्मचारी नै लागेर त्यसको ठीक दोब्बर ५२ सय भन्दा बढी काटेका थिए । नापजाँच गर्नुअघि वन समितिले अवैध कटान गरेको काठ लुकाएर थोरै देखाएको वडाध्यक्ष राईले बताए । उपभोक्ताहरू खेम भट्टराई, बालकुमार मगर, वीरबहादुर बस्नेत, रामनारायण चौधरी र ज्ञानेन्द्र राई लगायत दुई दर्जन जति उपभोक्ताको टोलीले अख्तियार अनुसन्धान दुरुपयोग इटहरी, जिल्ला वन कार्यालय मोरङ, १ नम्बर प्रदेश वन मन्त्रालय निकायमा अवैध कटानको बारेमा छानविन गरी कारबाही गर्न माग गरेको थियो । कटान आदेशको काठ काट्न जिम्मा पाएका मजदुरहरूबाट सूचना बाहिर आएपछि उपभोक्ताहरूले त्यसको छानविन गरेका थिए । यता उपभोक्ता समितिका अध्यक्ष ईश्वर चौहानले भने विधान, कार्ययोजना र वनको आदेशमै काठ कटान गरी घाटगद्दी भएको र कटान आदेशभन्दा बढी नकाटेको बताए । उपभोक्ताहरुले भने सामुदायिक वनभित्र वन कर्मचारी र वन समितिले करोडौंको भ्रष्टाचार गर्ने गरेको र पटक–पटक सचेत गराउँदा पनि नसच्चिएकोले यस पटक पर्दाफास गरेको उपभोक्ता बालकुमार तामाङ बताउँछन् । उनले काठ सधैँ यसरी नै निकाल्ने गरेको, राम्रो जति सेटिङमा बेच्ने गरेको र धोद्रो परेका जति २ क्यु.फिटका दरले उपभोक्तालाई बाँड्ने गरेको बताए । उर्लाबारी मङ्गलबारेका सेक्टर वन अधिकृत चौधरीलाई यस विषयमा बुझ्दा सबै कुरा जिल्ला वनले गर्ने भन्दै आफूलाई नसोध्नू भन्ने जवाफ दिएका थिए ।