धरान । प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसद्लाई झापड हानेको घटना सार्वजनिक भएको छ । प्रदेशसभाको बैठक सकिएपछि मङ्गलबार संसदीय दलको कार्यालयमा धनुषा क्षेत्र नम्बर १ (क) की निर्वाचित सांसद् किशोरी साहलाई झापड प्रहार गरेकी हुन् । तात्कालीन एमालेका समानुपाति सांसद् मञ्जु यादवले झापड हानेको घटना सार्वजनिक भएको हो । कार्यालयमा सांसद्हरुको योजना टाइप गर्ने क्रममा विवाद भएपछि यादवले साहमाथि हातपात गरेकी थिइन् । कम्प्युटरमा टाइप गर्ने व्यक्तिसँग यादवको विवाद चुलिएको बेला सांसद् साह झोक्किएपछि यादवले हातपात गरेकी थिइन् । नेकपाका सांसद्का अनुसार साहले अपशब्द प्रयोग गरेपछि आक्रोसित बनेकी यादवले झापड प्रहार गरेकी थिइन् । झापड हानेको समयमा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद् नागेन्द्र साह पनि त्यहीँ रहेका थिए । यो घटनाले नेकपाभित्र एकखालको खैलाबैला मच्चिएको छ ।