वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा आइतबार सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले कृषि औद्योगिक क्षेत्र स्थापनाका लागि राय तथा सुझाव दिएका छन । नगरको आर्थिक समृद्धिका लागि पहिलो सर्त कृषि र औद्योगिक क्षेत्र भएकाले यसको विकास र उन्नयनमा नगरले विशेष ध्यान दिनुपर्ने सुनुवाईमा उपस्थित स्थानीयले गुनासोसहितको राय राखे । नगरका अधिकांश बजार क्षेत्र वर्षा लागेपछि डुबान हुने भन्दै भौतिक संरचना निर्माण गर्दा ख्याल गर्नुपर्ने सहभागीले बताए । नगरमा प्राविधिक कर्मचारीहरु कम भएका कारण सेवाग्राहीले सुलभ तरिकाले सेवा लिन नसकेको समेत स्थानीयले गुनासो गरेका थिए । नगरबाट प्रवाह हुने सूचनामा जनताको सहज पहुँचका लागि प्रत्येक तीन महिनामा स्वतःस्फूर्त सूचना प्रवाह गर्न स्थानीय संचारकर्मीले नगरलाई सुझाव दिए । सुनुवाईमा स्थानीयले भ्रष्ट कर्मचारीलाई नगरले कारवाही गर्नुपर्ने समेत सुझाव दिएका थिए । वार्षिक रुपमा नगरपालिकाले आफना काम कारवाहीप्रति पारदर्शीता र सुसुचित गर्दै जनताका गुनासा सुन्न आयोजना गरिएको सुनुवाईमा नगर प्रमुख निलम खनालले जन गुनासोलाई नगरको सम्पत्तिका रुपमा रहेको बताए । निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतालाई क्रमशः पूरा गर्दै जाने नगर प्रमुख खनालले बताए । उनले नगरको तिव्र विकास आफनो अभिष्ट रहेको समेत सुनुवाईका क्रममा उल्लेख गरे । उनले अहिलेसम्म कर्मचारीले भ्रष्टाचार गरेको, जनताको काममा गैरजिम्मेवार रहेको कहीँ कतै गुनासो नआएको स्पष्ट पारे । यदि यस्तो गुनासो आए नगर प्रमुखका हैसियतले त्यस्ता कर्मचारीलाई कारवाही गर्ने बताए । ‘यदि कर्मचारीले भ्राष्टाचार गरेको पाइए आयोग निर्माण गरी विभागीय कारवाही गर्ने वा कानुनअनुसारआवश्यक कारवाही गरिने छ,’ नगरप्रमुख खनालले भने । सार्वजनिक सुनुवाईमा बोल्दै नगर उपप्रमुख कमला मगरले नगरका कामकारवाही प्रति महिलाको क्षेत्रबाट गुनासो, राय, सुझाव नआएकोमा दुखेसो व्यक्त गरिन । आफू नगरको न्यायिक समितिको संयोजक समेत रहेकाले नगरको न्याय प्रणालीका विषयमा स्थानीयले चासो राख्नु पर्ने उपप्रमुख मगरले बताइन । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि, प्रहरी प्रशासन र स्थानीय नागरिकको सहभागिता थियो ।